चार वर्षपछि खुल्यो तातोपानी नाका
सिन्धुपाल्चोक, जेठ १५ : विसं २०७२ वैशाख १२ गते गएको भूकम्पलगतै बन्द भएको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ।
भोटेकोशी गाउँपालि....
सिन्धुपाल्चोक, जेठ १५ : विसं २०७२ वैशाख १२ गते गएको भूकम्पलगतै बन्द भएको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ।
भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको लिपिङमा निर्मित मितेरी पुलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र चीन सरकारको तर्फबाट वाणिज्य उप–मन्त्री झाङ जि वइन र चिनियाँ राजदूत होउ याङ छिले संयुक्त रुपमा रिबन काटेर बुधबार नाकाको उद्घाटन गरेका थिए।
ल्हासाबाट चार कन्टेनर ऊन ल्याउँदै नाका सञ्चालनमा आएको हो। नाका शुभारम्भपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री यादवले ‘एक चीन नीति’मा नेपाल अडिग रहेको बताए। भर्खरै सञ्चालनमा आएको नाकाबाट नियमित रुपमा व्यापार व्यवसाय सञ्चालन हुनेमा आशावादी भएको मन्त्री यादवले बताए।
भूकम्पपछि पुनःनिर्माणमा चीनले नेपाललाई धेरै सहयोग गरेको उनले बताए। कार्यक्रममा चिनियाँ उपमन्त्री झाङले नेपालसँग साझेदारी गरेर जान चीन तयार रहेको बताए। सुरक्षा संवेदनशीलताको हिसाबले तातोपानी नाकालाई स्मार्ट बनाउन आवश्यक रहेको र सहज रुपमा व्यापार व्यवसाय हुनेमा आशावादी रहेको उनको भनाइ थियो ।
नाका सञ्चालनमा आए पनि मानिसको आवतजावत भने खुला गरिएको छैन। कार्यक्रममा सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङ, प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल, बाह्रबिसे नगरपालिकाका प्रमुख निम फुञ्जो शेर्पा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेललगायतको उपस्थिति रहेको थियो।