एसिड पीडित जेनी खड्काको उपचारमा आर्थिक समस्या
काठमाडौं, जेठ १४ : जब कुनै महिलालाई कसैले एसिड प्रहार गरेको खबर आउँछ, तब सबै पत्रकारहरू बोल्न सके पीडितको र बोल्न नसके उनका परिवारजनको अघिपछि झुम्मिन्छन्। अनेकौं प्रश्....

काठमाडौं, जेठ १४ : जब कुनै महिलालाई कसैले एसिड प्रहार गरेको खबर आउँछ, तब सबै पत्रकारहरू बोल्न सके पीडितको र बोल्न नसके उनका परिवारजनको अघिपछि झुम्मिन्छन्। अनेकौं प्रश्नहरू सोध्छन्। तर, दुई–चार दिनपछि सबैले उनलाई बिर्सन्छन्।
गत जेठ १ गते राति काठमाडौंको कालोपुलमा एसिड आक्रमणमा परेकी २० वर्षीया जेनी खड्काको हकमा पनि यस्तै भएको छ। घटना भएको पहिलो सातासम्म हरेक दिनजसो कोही न कोही पत्रकार जेनीको फोटो खिच्न कीर्तिपुर अस्पताल पुगेकै हुन्थे जेनी बोल्न सक्दिन थिइन्। त्यसैले, पत्रकारहरू उनकी आमा कमला खड्कालाई अनेकौं प्रश्नहरू सोध्थे।
कतैबाट केही सहयोग मिल्ला कि भनेर कमला पनि हरेक पत्रकारको जवाफ दिन्थिन्। बिस्तारै पत्रकारहरू आउन छाडे। जेनीको घाउ भने उस्तै छ। कमलाको पीडा पनि उस्तै छ।
दुई सातामै जेनीलाई सबैले भुलेका छन्। जेनी भने अझै राम्ररी चल्न–चट्पटाउन सक्दिनन्। जीउ चिलायो भने पनि आमाले कनाइदिनुपर्छ। तर, आमा कमला पनि चौबीसै घण्टा छोरी रुङेर बस्न सक्दिनन्। हरेक दिन अस्पताल बेडको आठ सय र औषधिको पैसा तिर्नुपर्ने भएकोले आमा कमला ऋण खोजदै यताउता भौतारिरहेकी छिन्।
पत्रकार आए, गए
प्रश्नमात्रै सोध्न आउने तर सहयोग नगर्ने पत्रकारदेखि जेनीकी आमा कमला विरक्तिएकी छिन्।
उनी भन्छिन्, ‘धेरै पत्रकार आए। कतिले फोटो खिचेर लगे। कतिले भिडियो बनाएर लगे। तर, कसैले सहयोग गरेनन्। मेरो दुःख मैसँग छ।’
उनी फोटो खिच्न पनि मानिन्। झर्किदै भनिन्, ‘कतैबाट सहयोग जुट्न सक्छ भन्दै मलाई बोल्न लाए। अनेक गफ दिए। तर, कसैले सहयोग गरेनन्। एउटै प्रश्नको उत्तर पटक–पटक दिँदा दिक्क लागिसक्यो।’
पैसा नहुँदा समस्या
जेनीका बुवाको ३ वर्षपहिले हृदयघातले निधन भयो। २ छोरीलाई पाल्न, हुर्काउन आमा कमलालाई निकै समस्या थियो।
कमला सहरमा बनीबुँतो गर्थिन्। जे काम पायो, त्यही गर्थिन्। कहिले घर सफा गर्ने त कहिले सुत्केरी स्याहार्ने।
जेनीमाथि जुन साँझ तेजाब छ्यापियो, त्यो साँझा पनि कमला बालुवाटारको एउटा घरमा सुत्केरी स्याहार्दै थिइन्। उनलाई कसैले फोन गरेर सुनायो –तपाईंको छोरी अस्पतालमा छिन्।
याे पनि : एसिड पीडितलाई न्याय : धेरै ढिलो, धेरै कम

साँझ–विहान हातमुख जोर्ने र भाडा तिर्ने समस्यामा रहेकी कमलासँग जेनीको उपचार गर्ने पैसा छैन। उनले दुःखका दिनका लागि भनेर ३० हजार पैसा साँचेकी थिइन्। त्यो पैसा खर्च भइसक्यो। साथीभाइबाट ऋण लिएको अर्को ३० हजार पनि खर्च भइसक्यो।
उनी भन्छिन्, ‘अहिले त काम छैन, कसैले ऋण पनि पत्याउँदैन रहेछ!’
जेनीमाथि एसिड प्रहार गरी भागेका विष्णु भुजेललाई त्यही रात काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो। विष्णुले अविवाहित छु भनी झुक्याएर जेनीसँग विवाह गरेका थिए। तर, विष्णु पहिले विवाहित रहेको थाहा पाएपछि जेनी उनीसँग बस्न मानिरहेकी थिइनन्। आफूसँग बस्न नमानेको झोंकमा जेनीमाथि एसिड प्रहार गरेको विष्णुले प्रहरीलाई बताएका छन्।
याे पनि : एसिड पीडित दलितलाई काठमाडौंमा डेरा पाउन समस्या













-(86)-1764936079.jpg)