Kathmandu Press

रूपन्देहीमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण शुरू

बुटवल, जेठ १३ : रूपन्देही बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवलमण्डपमा आधुनिक तथा उच्च प्रविधियुक्त ‘अन्तरराष्ट्रियस्तरको बुटवल प्रदर....

रूपन्देहीमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण शुरू

बुटवल, जेठ १३ : रूपन्देही बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवलमण्डपमा आधुनिक तथा उच्च प्रविधियुक्त ‘अन्तरराष्ट्रियस्तरको बुटवल प्रदर्शनी केन्द्र’ निर्माणका लागि सोमबारदेखि काम शुरु भएको छ। 

शहरी विकास मन्त्रालय, शहरी विकास र भवन निर्माण विभाग, बुटवल सभागृह तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइले गरेको बोलपत्र स्वीकृत भएपछि आजदेखि काम शुरु गरिएको हो। उक्त आयोजना शुरु भएको २७ महीनामै  निर्माण पूरा गर्ने लक्ष्य लिइएको भवन विभागका महानिर्देशक मनिराम गेलालले जानकारी दिए। 

बुटवलमण्डपमा रहेको कूल साढे १६ बिघा जग्गामध्ये ६ बिघाभन्दा बढी क्षेत्रफलमा अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्र बन्नेछ। साढे १० बिघा क्षेत्रफलमा अहिले अन्तरराष्ट्रिय सभागृहको दोस्रो चरणको निर्माणको काम चलिरहेको छ।  

Hardik ivf

एक अर्ब रूपैयाँभन्दा बढी लागत अनुमानमा निर्माण गरिने प्रदर्शनी केन्द्र मुलुककै नमूना र आकर्षक हुने जिकिर गरिएको छ। यसको प्रदर्शनी केन्द्रमै हरियालीसहितका बालोद्यान, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका मण्डप हुने  गरी डिजाइन गरिएको छ।

प्रदर्शनीका लागि ट्रस सिस्टमको ठूलो कक्षमा १२ हजार वर्ग मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूलस्थलको डिजाइन गरिएको छ। यहाँ ३५० देखि ४०० सम्म कक्ष राख्न मिल्नेछ। कक्षलाई आवश्यक परेका बखतमा घटाउन-बढाउन मिल्नेगरी डिजाइन गरिएको भवन विभागका महानिर्देशक गेलालले जानकारी दिए। 

खुला स्थानमा ठूलाठूला उपकरणको छुट्टै प्रदर्शनी गराइने छ। त्यहाँ डोजर, लोडर, गाडीलगायत साधनको प्रदर्शनी हुनेछ। यस्तै ३५० र २५० वर्ग मिटरका दुई ठूला बैठक कक्ष पनि बन्नेछन्। तीन सय ५० वर्ग मिटरमै व्यवस्थित भोजनालय बन्ने डिजाइन रहेको उनले बताए। प्रदर्शनीस्थलमा एक लाख वर्ग फिटमा आकर्षक हरियालीसहितको बालोद्यान बन्नेछ। मण्डप परिसरमा रहेको गणतन्त्र स्मारकलाई केन्द्र भागमा राखेर छुट्टै पोखरी निर्माण गरी आकर्षक बनाइने छ।

प्रदर्शनी केन्द्रको नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सोमबार शिलान्यास गर्दै आयोजनाको निर्माणमा गुणस्तरीयता राखी समयमा काम सम्पन्न गर्नुपर्ने यस क्षेत्रका जनताको मुख्य सरोकारको विषय भएको बताए।  आयोजनाका लागि बजेट अभाव हुन नदिइने प्रतिबद्धतासमेत उनले जनाए। प्रतिनिधिसभाका सदस्य पौडेलले वर्तमान सरकार निर्माण भएको एक वर्षका अवधिमा सरकारले संविधान कार्यान्वयनको वस्तुगत, कानूनी र संरचनागत आधार निर्माण गर्ने काम सफलतापूर्वक सम्पन्न गरेर जनतालाई संविधानले प्रदान गरेको मौलिक हक व्यावहारिक रुपमा उपभोग गर्नसक्ने गरी कानून निर्माण गरेको बताए।  

कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरीले प्रदेश नं ५ सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट नै प्रदेशलाई समृद्ध र विकासको बाटोमा अघि बढाउन सकिन्छ भनेर नै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउने महत्वपूर्ण कार्यक्रम अघि सारेको बताए। उनले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण हुँदा नै राष्ट्रिय योजना आयोगको अध्ययनमा ५ नं प्रदेश अहिले आर्थिक वृद्धिदरमा अग्रस्थानमा देखिएको बताए। 

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलका लागि अर्को गौरवको विषय थपिएको उल्लेख गर्दै समयमै केन्द्र निर्माण सम्पन्न होस् भन्ने  बुटवलबासीको चाहना रहेको बताए।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमबहादुर हमालले अन्तरराष्ट्रिय प्रदर्शनीस्थलले आर्थिक सबलीकरणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले समयमै काम सम्पन्न गर्ने र गुणस्तरीयताको नियमित अनुगमनका लागि उपमहानगरपालिकाको नेतृत्वमा निजी क्षेत्रको सहभागितामा समिति बनाउनुपर्नेमा जोड दिए। रासस

प्रकाशित मिति: १८:४२ बजे, सोमबार, जेठ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्