Kathmandu Press

विप्लव र वैद्यसहित चार दलको रणनैतिक संयुक्त मोर्चा घोषणा

काठमाडौं, माघ २९ : नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चा बिहीबार काठमाडौंमा घोषणा भएको छ।
विप्लव र वैद्यसहित चार दलको रणनैतिक संयुक्त मोर्चा घोषणा

काठमाडौं, माघ २९ : नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चा बिहीबार काठमाडौंमा घोषणा भएको छ।

मोर्चाको १५ सदस्यीय केन्द्रीय समिति पनि बिहीबार घोषणा गरिएको छ। समितिमा धनकुमारी सुनार, सीपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझीलगायत छन्। मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।

मोर्चाले पहिलो चरणमा ६ फागुनमा बुटवल, १४ फागुनमा धनगढी र १८ फागुनमा इटहरीमा जनसभा गर्ने भएको छ। जनसभापछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले जनाएको छ।

Hardik ivf

धेरै परिश्रमपछि रणनैतिक संयुक्त मोर्चा निर्माण भएको नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले बताए। मोर्चाको उद्देश्य संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य रहेको उनले बताए। ‘साम्राज्यवाद र दलालवादी व्यवस्थाको अन्त्य गरेर नेपालमा  जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु प्रमुख उद्देश्य हो,’ उनले भने।

मोर्चामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, वामपन्थी, देशभक्त, सच्चा लोकतन्त्रवादी शक्ति र व्यक्तित्वहरू, मजदुर, किसान, महिला, दलित, जनजाति, मधेशी, मुस्लिमलगायत उत्पीडित वर्ग र समुदायका प्रतिनिधिहरू सामेल हुने उनको भनाइ थियो। संक्रमणकालीन राजनीतिक अवस्थामाथि हस्तक्षेपसहित अगाडि बढ्नु अनिवार्य रहेको वैद्यले बताए। अहिलेको  संक्रमणकालीन राजनीति र संसदीय व्यवस्था असफल भएको वैद्यको बुझाइ छ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई लगाएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने उनले बताए। ‘विप्लवले नेतृत्व गरेको नेकपाका नेता-कार्यकर्ताहरूलाई जेलबाट रिहा गरियोस्,’ उनले भने ‘आफूलाई सक्कली कम्युनिस्ट भएको दाबी गर्ने हो भने वर्तमान सरकारले विप्लवलाई प्रतिबन्ध लगाउनुपर्ने कारण के हो ?’

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले नेपाली समाजलाई अग्रगामी निकास दिन र नयाँ एतिहासिक पहलका लागि रणनैतिक संयुक्त मोर्चा गठन भएको बताए। ‘कम्युनिस्ट आन्दोलनका हतियारमध्ये एउटा मुख्य हतियार संयुक्त मोर्चालाई मानिन्छ,’ उनले भने, ‘तर, विश्व कम्युनिस्ट आन्दोलनमा रणनैतिक संयुक्त मोर्चाको प्रयोगमा त्यति सफलता मिलेको होइन। प्रयत्न भए पनि ठोस रूपमा सफल भएन।’

नेपालमा विसं २००६ देखि नै संयुक्त मोर्चाका बारेमा निरन्तर धेरै कुरा गरिए पनि सफल नभएको उनी बताउँछन्। भन्छन्, ‘दीर्घकालीन कार्यनीतिजस्ता संयुक्त मोर्चा बने पनि जनतन्त्र वैज्ञानिक समाजवादजस्तो कम्युनिस्ट उद्देश्यसहित यसप्रकारको रणनीतिक संयुक्त मोर्चा गठन गरिएको हो।’

वैज्ञानिक समाजवादी व्यवस्था, जनतन्त्रयुक्त व्यवस्था, कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरण र पार्टी एकता रणनैतिक संयुक्त मोर्चाको मुख्य उद्देश्य रहेको उनी बताउँछन्। चालु संविधानलाई कुल्चिएर र संविधानमै नभएको प्रतिबन्धलाई रणनैतिक संयुक्त मोर्चाले नमान्ने उनले बताए। ‘कसैले कुनै पार्टीलाई प्रतिबन्ध लगाउँछ भने त्यो आफैंमा प्रतिगमन हो,’ उनले भने।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलले दमनले क्रान्ति नरोकिने बताए। ‘कुनै पनि तानाशाह र प्रतिक्रियावादी शक्तिले जनताको तागतलाई परास्त गर्न सक्दैनन्,’ उनले भने, ‘सरकारले  चलाएका दमनका सबै हथकण्डा छोडोस्, नेपाली जनताका प्रतिनिधि, मुक्तिका लागि संघर्ष गरिहेका योद्धाहरूलाई जेलबाट बाहिर निकालोस्।’

रणनैतिक संयुक्त मोर्चा विचार मिल्ने कम्युनिस्टहरूको मोर्चा रहेको उनले बताए। मोर्चामा आबद्ध हुने कम्युनिस्ट पार्टीहरू र अन्य शक्ति एवं व्यक्तिहरू मोर्चाको मान्यतासँग नबाझिने गरी आफ्नो कार्यदिशाअनुरूप अभिव्यक्ति र गतिविधि गर्न स्वतन्त्र रहने उनले बताए।
 

प्रकाशित मिति: २०:४७ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्