अख्तियारका कर्मचारी कसैसँग डराउनु हुँदैन : प्रदेश प्रमुख प्रसाईं
अख्तियारकोे ३०औं स्थापना दिवसका अवसरमा हेटाैँडामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख प्रसाईंले स्थानीय निकायका जनप्रतिनिधिलाई पूर्वाधार निमार्णमा हुने अनियमितता तत्काल नियन्त्रण गर्न आग्रह गरे ।मकवानपुर, माघ २८ : वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारलाई कसैको भय, त्रास र धम्कीबाट मुक्त भएर समाजमा बढ्दै गएको आर्थिक भ्रष्टाचारलाई न्यूनीकरण गर्ने अभियानमा निर्भिक भएर कार्य क्षेत्रमा उत्रिन आग्रह गरेका छन् ।
अख्तियारकोे ३०औं स्थापना दिवसका अवसरमा हेटाैँडामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख प्रसाईंले स्थानीय निकायका जनप्रतिनिधिलाई पूर्वाधार निमार्णमा हुने अनियमितता तत्काल नियन्त्रण गर्न आग्रह गरे ।
प्रदेश प्रमुख प्रसाईंले प्रदेशमा सुशासन ल्याउन र जनतालाई भरोसा दिलाउन जनप्रतिनिधिले भ्रष्टाचार गर्दिन भन्ने भावनालाई जागृत गरेर अघि बढनुपर्ने आवश्यकता औंल्याए । राष्ट्रसेवक कर्मचारीले पनि सेवाग्राहीलाई सेवा दिने क्रममा यदाकदा घुस लिने गरेकोले आयोगका विशेषज्ञले पनि ती कार्यालयमा निगरानी राखेर भ्रष्टाचार न्यूनीकरण गर्न प्रयास थालिनुपर्ने उनले बताए ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव राधिका अर्याल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डुराज घिमिरे, प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठलगायतले बोलेका थिए ।