पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि परीक्षण शिविर सञ्चालन
काठमाडौं, माघ २८ : नेपाल मजदुर किसान पार्टीको ४७ औं स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिका १ ले पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर सञ्चालन गरेको छ। बुधबार सञ्चाललित शिविरमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार नगरपालिकाले सबै वडाहरुमा जनस्वास्थ्यसँग सम्बन्धित स्वास्थ्य परीक्षण शिविरहरु सञ्चालन गरिरहेको र यसबाट धेरै युवती तथा महिलाहरुले लाभ लिइरहेका छन्। रोगदेखि डराउने र लजाउने गर्न नहुने भन्दै समयमै रोगको पहिचान गरी आवश्यक उपचार गरी सम्भावित जोखिमबाट बच्न शिविरसञ्चालन गरिएको उनको भनाई छ।
यस्तै नेपाल मजदुर किसान पार्टी स्थापना दिवसको असरमा जिल्ला–जिल्लामा पुस्तक प्रदर्शनी, अन्तरक्रिया, तालिम, प्रवचन तथा स्वास्थ्य शिविरहरु सञ्चालन भइरहेको र यसले समाजमा चेतना बढ्नुका साथै उच्च शिक्षातर्फ छात्राहरुको आकर्षण बढेको प्रमुख प्रजापति बताउँछन्।
प्रमुख प्रजापति भन्छन् ‘भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याइरहेको र भक्तपुर क्यान्सर अस्पतालमा सस्तोमा गुणस्तरीय क्यान्सर सेवालगायतका स्वास्थ्य सेवा सुविधा उपलब्ध भइरहेको छ।’