सगरमाथा आरोहण गर्न विदेशी पर्यटकले खर्चिन्छन् २ करोड
काठमाडौं, जेठ ११ : नेपाल घुम्न आउने पर्यटकहरूमध्ये सबैभन्दा बढी खर्च गर्नेमा सगरमाथा आरोहीहरू पर्छन्। उनीहरूबाट यस सिजनमा मात्रै नेपाल सरकारले ४४ करोड....

काठमाडौं, जेठ ११ : नेपाल घुम्न आउने पर्यटकहरूमध्ये सबैभन्दा बढी खर्च गर्नेमा सगरमाथा आरोहीहरू पर्छन्। उनीहरूबाट यस सिजनमा मात्रै नेपाल सरकारले ४४ करोड ३८ लाख ७८ हजार ६२ रुपैयाँ रोयल्टी संकलन गरेको छ।
नेपालमा आरोहणका लागि आउने पर्यटकहरू कम्तीमा ४५ दिनदेखि ७५ दिनसम्म बस्छन्। तर, नेपालमा समान्यतः पर्यटकको बसाइ अवधि १३ दिनमात्रै हुन्छ। सामान्यतः अरु पर्यटकले दैनिक ५४ डलर मात्रै खर्च गर्छन्।
‘नेपालमा सबैभन्दा बढी खर्च गर्ने भनेको पर्वतारोहणमा आउने पर्यटक नै हुन्, उनीहरूको खर्च राम्रो हुन्छ,’ पर्वतारोहण संघका पूर्वअध्यक्ष तथा एसियन ट्रेक्स कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले भने।
विदेशी आरोहीले नेपालमा ठ्याक्कै यति खर्च गर्छन् भन्ने निकाल्न गाह्रो भएपनि २ लाख डलरसम्म खर्च गर्ने गरेको शेर्पाले जानकारी दिए। यो भनेको नेपाली रुपैयाँ २ करोड १० लाखभन्दा बढी हो।
आरोहणमा आउने पर्यटकका लागि एक्स्पीडिसन कम्पनीहरूले ४० हजार डलरदेखि एक लाख डलरसम्मको प्याकेज बिक्री गर्ने गर्छन्। नेपाल आएपछि उनीहरूको अन्य खर्च जोड्दा २ लाख डलरसम्म हुने शेर्पाको भनाइ छ।
जसमा आरोहण स्वीकृतिका लागि एक जनाले ११ हजार डलर सरकारलाई बुझाउने गरेका छन्। शेर्पाका अनुसार एक जना आरोहणमा जाँदा ७ जना देखि १५ जनासम्मले प्रत्यक्ष रोजगारी पाउने गरेका छन्।
आरोहणका लागि जाने सहयोगीले दैनिक १ हजार ५ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँ पाउने गरेका छन्। उनीहरुले आरोहण गराए वापत बोनस नै २ लाख रुपैयाँसम्म पाउने गरेका छन्।
‘एउटा शेर्पाको कमाइ एक सिजनमा ३ लाख रुपैयाँ थोरैमा हुने गर्दछ,’ शेर्पाले भने। नेपालमा पर्वतारोहणका लागि काम गर्ने एजेन्सीहरु ६० भन्दा बढी छन्। तर, एक दर्जन बढी एजेन्सीहरुले मात्रै आरोहणका लागि काम गर्ने गरेका छन्। एक आरोहीबाट एक एजेन्सीले २५ सय डलरदेखि १० हजार डलरसम्म फाइदा कमाउने गरेका छन्।










-1754206481.jpg)
