वामदेव रणनीति : आफू एकता अभियानमा, अनुयायी ओली समूहमा
आफ्ना समर्थकलाई ओली समूहतिर लगाएर वामदेव गौतमले घोषणा गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’प्रति नेकपाका दुवै समूहमा संशय देखिन्छ।काठमाडौं, माघ १७ : ४ माघमा नेपालगञ्जमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेता वामदेव गौतमको ‘पार्टी एकता राष्ट्रिय अभियान’प्रति भ्रममा नपर्न समर्थकलाई आग्रह गरे। ‘आफूनजिकका नेता-कार्यकर्तालाई ओली समूहतिर लगाएर उहाँ एकताको भ्रम छर्न खोज्दै हुनुहुन्छ,’ नेपालले भनेका थिए।
नेपालको अभिव्यक्तिको कारण खोज्न ७ पुसमा ओली समूहले मनोनित गरेका पाँच सय ५६ जना केन्द्रीय सदस्यको सूची केलाउनुपर्छ। तीमध्ये बर्दियाका आठजना वामदेवको सूचीमा परेका थिए।
ओली समूहको केन्द्रीय सदस्य बनेकामध्ये वामदेव पत्नी तुलसा थापा पनि थिइन्। यस्तै, बर्दिया बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, बर्दिया क्षेत्र नम्बर १ (क)बाट निर्वाचित सांसद कविराम थारू, बर्दिया २ (क)का सांसद कुलप्रसाद पोखरेल, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य खड्गबहादुर खड्का, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक, नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य खगराज शर्मा र इन्द्र सेन थिए। वामदेव पुत्र हरिश गौतम ओली समूहको बर्दिया जिल्ला सदस्य छन्।
प्रधानमन्त्री केपी ओलीको सूचीबाट नेकपा युवा तथा खेलकुद विभाग सचिव दामोदर अर्याल, पूर्वसांसद श्याम ढकाल र नेकपा प्रदेश कमिटी सदस्य शोभा ज्ञवाली केन्द्रीय सदस्य बनाइएका थिए। तर, तीमध्ये अर्यालले ४ माघमा बर्दिया सदरमुकाम गुलरियामा आयोजित प्रचण्ड-नेपाल समूहको सभामा सार्वजनिक रूपमै ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरिसकेका छन्। सभामा नेता नेपाल प्रमुख अतिथि थिए।
मदन भण्डारी फाउन्डेसनमा निरन्तर केन्द्रीय सदस्य रहिआएका थिए, अर्याल। सोही हैसियतमा उनी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग निकट नेता थिए। सोही सभामा अर्यालले फाउन्डेसनको केन्द्रीय सदस्य पद पनि परित्याग गरेको घोषणा गरेका थिए। ‘संसद् विघटन र पार्टी विभाजन गलत हो। यसको प्रमुख दायित्व केपी ओलीले लिनुपर्छ, जवाफदेही उहाँ नै हो,’ अर्याल भन्छन्, ‘ओलीबाट गलत काम भएको ठहरसहित मैले पार्टी र फाउन्डेसनको केन्द्रीय सदस्य पद परित्याग गरेको हुँ।’
जनताको बहुदलीय जनवाद (जबज)प्रति आस्थावान् नेता हुन्, अर्याल। ओलीबाटै जबजको रक्षा हुने ठहरसहित उनी लामो समयदेखि ओलीको सन्निकट रहेर राजनीतिमा थिए। तर, पछिल्लो घटनाक्रमबाट ओलीप्रति मोहभंग भएको अर्यालको भनाइ छ।
ओलीको सूचीमा परेका पूर्वसांसद श्याम ढकाल र नेकपा प्रदेश कमिटी सदस्य शोभा ज्ञवाली सोही समूहको केन्द्रीय सदस्य छँदैछन्। र, वामदेवको कोटामा परेका आठजना नेता पनि सोही समूहमा खुलेका छन्। अर्याल भने प्रचण्ड-नेपाल समूहमा खुलेका छन्।
अर्याल तिनै नेता हुन्, जसलाई वामदेवले ०७४ सालको आम निर्वाचनमा आफूलाई हराएको आरोप लगाएका थिए। जब कि, पार्टी केन्द्रीय विभाग सचिव अर्याललाई चुनावी अभियानमा वडा तहमा सीमित गरेका थिए। पार्टी केन्द्रले गठन गरेको छानविन समितिले उनले वामदेवलाई चुनाव हराउन कुनै गतिविधि नगरेको ठहर गर्दै सफाइ दिएको थियो।
त्यसो त, वामदेव बर्दियामा पहिलेदेखि नै अलोकप्रिय छन्। स्थानीय तहको निर्वाचनमा वामदेवकै सिफारिसमा टिकट पाएका उम्मेदवारहरूले उनी चुनाव प्रचारमा आएमा आफूहरूले पराजय बेहोर्ने बताउँदै फिर्ता पठाएका थिए।
आफ्ना समर्थकलाई ओली समूहतिर लगाएर उनले घोषणा गरेको ‘पार्टी एकता राष्ट्रिय अभियान’प्रति नेकपाका दुवै समूहमा संशय देखिन्छ। सचिवालयमा पार्टी एकताका पक्षमा नउभिएर विभाजनका लागि मार्ग प्रशस्त गरेको आरोप उनले ओली समूहबाट खेप्दै आएका छन्। यस्तै, एकता अभियानका नाममा कार्यकर्ता भेला पारेर ओली समूहतिर लगाउन खोजेको बताउँदै प्रचण्ड-नेपाल समूहको उनीप्रति चर्को अविश्वास छ।