Kathmandu Press

गुगलको निर्णयले नेपालका १७ लाख हुवावे प्रयोगकर्ताको मोबाइल के होला?

काठमाडौं, जेठ ७ :  अमेरिका–चीन युद्धका बीच अमेरिकन कम्पनी गुगलले चिनियाँ मोबाइल फोन उत्पादक हुवावेसँग कुनै व्यापारिक सम्बन्ध नराख....

गुगलको निर्णयले नेपालका १७ लाख हुवावे प्रयोगकर्ताको मोबाइल के होला?
रिवाज राई

काठमाडौं, जेठ ७ :  अमेरिका–चीन युद्धका बीच अमेरिकन कम्पनी गुगलले चिनियाँ मोबाइल फोन उत्पादक हुवावेसँग कुनै व्यापारिक सम्बन्ध नराख्ने घोषणा गरेको छ। यसको अर्थ हो – हुवावेले अब गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम र एप प्रयोग गर्न पाउँदैन। र, त्यसको अर्थ हो – अब हुवावेका फोनहरू चीनभित्र मात्रै चल्नेछन्, अन्यत्र चल्दैन। चले पनि गुगल एपहरु खुल्दैनन्। 

विश्वभरका हुवावे मोबाइल प्रयोगकर्ताहरू अहिले एउटै प्रश्न गरिरहेका छन् – अब हाम्राे हातमा रहेको फोन के हुन्छ? 

नेपालका १७ लाख हुवावे मोबाइल प्रयोगकर्ताहरूको जिज्ञासा पनि उही छ – आफूले प्रयोग गर्दै आएको महङ्गो स्मार्ट फोन अब के हुन्छ? 

Hardik ivf

नेपाली बजारमा हुवावे फोन भित्रिएको करिब पाँच वर्ष भयो। छोटो समयमै नेपालको दोस्रो लोकप्रिय मोबाइल ब्रान्ड बनेको हुवावे अहिले पनि तेस्रो स्थानमा छ। 

भन्सार विभागका अनुसार नेपालमा वार्षिक ५० लाखभन्दा बढी मोबाइल फोन आयात हुन्छ। त्यसको ४५.८८ प्रतिशत हिस्सा अझै पनि कोरियन कम्पनी सामसुङको छ। दोस्रो स्थानमा सायोमी छ। नेपाल भित्रिने ९.४१ प्रतिशत सायोमी ब्रान्डका छन्। हुवावे अलि अघिसम्म दोस्रो स्थानमा थियो, अहिले ८.३९ प्रतिशत बजार हिस्सा सहित तेस्रो स्थानमा छ। (हेर्नुस् चार्ट)

बजार हिस्साको हिसाबले करिब ९० लाख नेपालीको हातमा सामसुङ ब्रान्डका मोबाइल फोन रहेको अनुमान गर्न सकिन्छ। यस्तै, सायोमीका मोवाइल करिब १८ लाख नेपालीसँग छन्। यस्तै, तेस्रो बजार हिस्सा रहेको हुवावे फोन नेपालमा १७ लाखभन्दा बढी रहेको अनुमान छ।

यी १७ लाख हुवावे फोनको हालत अब के हुन्छ? गुगलको निर्णयले हुवावे फोनमा प्रभाव पर्ने त निश्चित नै छ। तर, यो प्रभाव कस्तो, कसरी र कति समयसम्म पर्छ? यस विषयमा भने नेपालमा मात्र होइन, विश्वभरका हुवावे फोन प्रयोगकर्ता माझ अन्योल छ। 

काठमाडौंको न्यूरोडस्थित हुवावेको सुनसान शोरुम अगाडि बाटोमा मङ्गलबार हिँड्दै एक पैदल यात्री । तस्वीरः रिवाज राई

अहिलेसम्म प्राप्त सूचना अनुसार के स्पष्ट हुन्छ भने गुगलको निर्णयअघि नै हुवावे फोन खरिद गर्नेलाई तत्काल कुनै प्रभाव पर्दैन। पहिले नै किनिएका हुवावे फोनहरू नेपालमा मात्र होइन, विश्वभरि नै निर्बाध चलिरहेकै छन्। अब उत्पादन हुने हुवावे मोबाइलमा मात्रै गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम र एप नचल्ने हो। 

तर, यसको अर्थ पहिले हुवावे मोबाइल किन्नेहरू ढुक्क भई बस्ने स्थिति छैन। किनकि, पुरानो फोनमा अब नयाँ एन्ड्रोइड सिस्टम अपग्रेड हुँदैन। गुगल एप स्टोरमा आउने नयाँ एपहरू पनि पुरानो फोनमा डाउनलोड हुँदैनन्।

अब उत्पादन हुने हुवावे फोन त चीनभित्र मात्रै चल्छ। किनकि, चीनमा चल्ने हुवावे फोनको आफ्नै अपरेटिङ सिस्टम छ। सन् २०२० भित्र विश्वको पहिलो नम्बरको स्मार्ट फोन बन्ने लक्ष्य हुवावेको थियो। गुगलले आफ्नो निर्णय फिर्ता लिन जति समय लगाउँछ, हुवावेलाई नम्बर वन ब्रान्ड बन्ने लक्ष्य भेट्न त्यत्तिकै मुश्किल पर्नेछ।

काठमाडौंको न्यूरोडस्थित हुवावेको शोरुम नयाँ पी३० सिरिजको विज्ञापन । तस्वीरः रिवाज राई

नेपालमा पनि हुवावेको बजार स्वात्तै घट्ने सम्भावना छ। अब हुवावे फोन किन्नुअघि हरेक नेपालीले कम्तीमा दुईपटक सोच्नेछन्।  

नेपालमा हुवावेको आधिकारिक विक्रेता कल मोबिलिटी प्रा.लि. हो। कल मोबिलिटीले यस विषयमा कुनै प्रतिक्रिया दिन मानेको छैन। कम्पनीले हाल सञ्चालनमा रहेका फोनमा कुनै समस्या नपर्ने र नयाँ विषयमा भने चीनबाटै आधिकारिक कुरा आउने संक्षिप्त प्रतिक्रिया मात्रै दिएको छ।

हुवावेले नेपालमा दुई दर्जनभन्दा बढी सिरिजका मोवाइल बिक्री गर्दै आएको छ। नेपालमा हुवावेका फोनहरू ११ हजार ९ सय ९९ रुपैयाँ देखि १ लाख २९ हजार ९ सय ९९ रुपैयाँसम्मका छन्। 
 

प्रकाशित मिति: १५:५० बजे, मंगलबार, जेठ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्