प्रहरीले बालगृहमा छापा हान्दा संचालकलाई हृदयघात
काठमाडौं, जेठ ५ : बालुवाटारस्थित ऐश्वर्य बालगृहमा प्रहरीले छापा हान्दा संचालक निर्मला घिमिरेलाई हृदयघात भएको छ। प्रहरीले उनका छोरा प्रमोदलाई पक्राउ गर....
काठमाडौं, जेठ ५ : बालुवाटारस्थित ऐश्वर्य बालगृहमा प्रहरीले छापा हान्दा संचालक निर्मला घिमिरेलाई हृदयघात भएको छ। प्रहरीले उनका छोरा प्रमोदलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको छ।
बालगृह राम्रोसँग संचालन नगरेको जनाउँदै केन्द्रीय बालकल्याण समिति र प्रहरीको टोलीले जेठ १ गते ऐश्वर्य बालगृहमा छापा हानेको थियो। त्यहाँ रहेका एक सय २२ बालबालिकालाई उद्धार गरेको थियो।
बालगृहमा छापा हानेपछि संचालक निर्मला घिमिरे बेहोस भएकी थिइन्। उनलाई तत्कालै शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा लगिएको थियो। उनलाई हृदयघात भएको प्रहरीले जनाएको छ।
‘संचालक निर्मलालाई हृदयघात भएपछि गंगालालमा भर्ना गरिएको छ। हामीले उनका छोरालाई पक्राउ गरेका छौं,’ महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईले भने।
प्रहरीका अनुसार, उनको गंगालालमै उपचार भइरहेको छ। निर्मलाको अवस्था सामान्य रहेको डीएसपी प्रसाईले बताए।
दुवै आमाछोरा मिलेर बालगृह संचालन गरिरहेका थिए। निर्मलालाई हृदयघात भएपछि प्रहरीले उनका छोरा प्रमोदलाई पक्राउ गरेको हो। उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। ‘बालबालिका दुव्र्यवहारविरुद्ध मुद्धा दायर गरिएको छ,’ डीएसपी प्रसाईले भने।
केन्द्रीय बाल कल्याण समितिका सूचना अधिकारी रामबहादुर चन्दले बालबालिकाको अवस्था राम्रो नभएकाले उद्धार गरिएको बताए। ‘बालगृहमा बालबालिका भोकभोकै बसेको खबर पाएपछि उद्धार गर्न गएका हौं,’ उनले भने।
उद्धार गरिएका केही बालबालिकालाई अभिभावकको जिम्मा लगाएको छ। केही अभिभावक काठमाडौं बाहिर भएकाले आउँदै गरेको जनाएको छ। उद्धार गरिएका एक सय २२ मध्ये ८० बालबालिका जुम्लाका छन्।