सोलुमा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु

साेलुखुम्बु, माघ ५ : सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा ट्रक दुर्घटना हुँदा तीनको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको ट्रक दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए।
हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ। दूधकोशी सोलुखोला (८६ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। सोलु जलविद्युत् आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन (८६ मेगावाट) दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन।












