‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक
काठमाडौं, जेठ ५ : चर्चित पुस्तक ‘जीवन जिउने काइदा’का लेखक जीवन प्रसाईको तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक गरिएको छ।....

काठमाडौं, जेठ ५ : चर्चित पुस्तक ‘जीवन जिउने काइदा’का लेखक जीवन प्रसाईको तेस्रो पुस्तक ‘वरिपरि नै सर्वोपरि’ सार्वजनिक गरिएको छ।
डा.तीर्थबहादुर श्रेष्ले शुक्रबार नेपालयको आर शालामा ‘वरिपरि नै सर्वोपरि’ विमोचन गरे। पुस्तक विमोचन गर्दै डा.श्रेष्ठले पृथ्वीभरिका जीवात्माको आहाराको मूल स्रोत हरियालीको कुरा उठाएर पुस्तक अघि बढेको बताए।
स्वास्थ्य र विज्ञानलाई जोेडेर लेख्दै आएका प्रसाईले यो पुस्तक पनि वातावरण र प्रकृतिकै चर्चा गरेका छन् । पुस्तकको लेखनको बारेमा बोल्दै लेखक प्रसाई भने, ‘आधुनिक जीवनशैलीले हामीलाई बदल्दै लगे पनि हाम्रा वरपरको वातावरण र परम्परागत मान्यताहरू पनि उत्तिकै जरुरी छ भनेर यो पुस्तक लेख्न उत्साहित भएको हुँ।’
प्रसाईका अनुसार मानिसले स्वस्थ्य जीवन यापनका निम्ति वंशानुगत जीनबाटै थुप्रै गुण बोकेर आएका हुन्छन्। ‘त्यसपछिको महत्वपूर्ण भनेको हाम्रो खानपिन, आनीबानी र वातावरण नै हो,’ उनले भने।
अमेरिकामा स्वास्थ्यसम्बन्धीमै अध्ययन अनुसन्धानमा सक्रिय उनी नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच) सँग समेत आबद्ध छन्। यस अघि उनका ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ पुस्तक प्रकाशित छन्।
प्रकाशक नेपालयका किरणकृष्ण श्रेष्ठले कतिवटा पुस्तकभन्दा पनि कस्तो पुस्तक पाठकलाई दिने भन्ने कुरा ध्यानमा राख्ने गरेको बताए। स्वास्थ र स्वस्थ जीवनशैलीमा आधारित नेपालयको यो चौथो पुस्तक भएको उनले बताए।
यो पुस्तकको मूल्य तीन सय ९५ रुपैयाँ छ। यो इबुकमा पनि उपलब्ध रहेको नेपालयले जनाएको छ।












