सरकारले जनताको पक्षमा ठोस काम गर्न सकेन : देउवा
विराटनगर, जेठ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन्।
आज विराटनगर विम....

विराटनगर, जेठ ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाएका छन्।
आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको बताए।
सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु कांग्रेसले पारित हुन नदिने बताए। ‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ। जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं,’ उनले भने।
सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उनले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरुलाई मान्य नहुने बताए। पूर्वप्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि उल्लेख गरे।
उनले पार्टीको महाधिवेशन समयमै हुने बताए। कांग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको देउवाको भनाइ थियो।










