४ महिना साढे चार लाख पर्यटक नेपाल भित्रिए, सबैभन्दा बढी चिनियाँ
काठमाडौं, जेठ २ : पछिल्लो चार महिनाको अवधिमा नेपालमा झण्डै साढे ४ लाख विदेशी पर्यटक भित्रिएका छन्।
सन् २०१....

काठमाडौं, जेठ २ : पछिल्लो चार महिनाको अवधिमा नेपालमा झण्डै साढे ४ लाख विदेशी पर्यटक भित्रिएका छन्।
सन् २०१९ को जनवरीदेखि अप्रिलसम्म ४ लाख ४५ हजार एक सय ९ विदेशी पर्यटक नेपाल आएका हुन्। यो संख्या सन् २०१८ को तुलनामा १५.३ प्रतिशतले बढी हो। गत वर्ष यो अवधिमा ३ लाख ६२ हजार ८ सय ४० विदेशी पर्यटकले नेपाल घुम्न आएका थिए।
चार महिनामा साढे चार लाख पर्यटक संख्या हालसम्मकै बढी हो। सन् २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए। यही आधारमा पर्यटक संख्या बढेमा सन् २०१९ मा १४ लाख हाराहरी पर्यटक आउन सक्ने नेपाल होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले बताए।
सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ जना पर्यटक नेपाल आएका थिए। चार महिनाको अवधिमा नेपालमा ४४ हजार ८ सय २७ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्। भारतीय पर्यटकको नेपाल आगमन गत वर्षको चार महिनाको तुलनामा १९.१५ प्रतिशतले बढी हो। नेपालमा सार्क मुलुकबाट ९७ हजार १ सय ६८ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
त्यस्तै, यस वर्ष सबैभन्दा धेरै चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्। चार महिनामा ६४ हजार ५ सय ७८ चिनियाँले नेपाल भ्रमण गरेका छन्, जुन गत वर्ष भन्दा २०.६७ प्रतिशतले बढी हो। चार महिनामा अमेरिकन पर्यटकको संख्या ३२ हजार ७ सय ४० रहेको छ, जुन १०.८ प्रतिशत बढी हो। युरोपबाट ८५ हजार २७ जना पर्यटकले चार महिनामा नेपाल भ्रमण गरेका छन्।











-1754206481.jpg)
