बेसहारा १९ चेपाङ बालबालिकालाई विद्यालयमा आश्रय
यस शैक्षिक सत्र २०७७ देखि खानाबस्न सुविधासहित ती बालबालिकालाई शिक्षा प्रदान गर्न स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा राखिएको वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए ।चितवनको इच्छाकामना गाउँपालिका–२ का १९ चेपाङ बालबालिकालाई वडाध्यक्ष पञ्चबहादुर चेपाङले संरक्षण दिएका छन् । वडाभित्र बाबुआमा नभएका, बाबुको मृत्युपछि आमा पुनः अर्कैसँग विवाह गरेर गएका, बाबुआमा अपांगता अशक्त भई पालनपोषण गर्न नसकेका र अपांगता भएका बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्न वडाध्यक्ष चेपाङको पहलमा उनीहरुलाई स्थानीय एक विद्यालय भवनमा राखिएको हो ।
यस शैक्षिक सत्र २०७७ देखि खानाबस्न सुविधासहित ती बालबालिकालाई शिक्षा प्रदान गर्न स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा राखिएको वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताए । हाल विद्यालयका शिक्षक र स्थानीयले ती बालबालिकालाई खान बस्न र कपडाको व्यवस्थापन गर्दै आएका छन् । ती बालबालिकाका लागि खाद्यान्न अभाव भएको अध्यक्ष चेपाङले बताए ।
उनले भने, ‘बाबुआमा नभएका, अभिभावक अपांगता, अशक्त भई पालनषोषण गर्न र विद्यालय पठाउन नसकिएका तथा अपाङ्गता भएका बालबालिकालाई खान बस्न सुविधासहित शिक्षा प्रदान गर्न यो अभियान सञ्चालन गरेका हौँ, अहिले मेरो पहलमा स्थानीय तह र विद्यालयका शिक्षकको सहयोगमा बालबालिकालाई राखिएको छ, केही सङ्घसंस्थाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए पनि प्राप्त भएको छैन ।’
अहिले उक्त बालबालिकालाई राख्न वडा कार्यालयले १० लाख बजेट छुट्याई दुई कोठे भवनसमेत निर्माण गरिरहेको वडाध्यक्ष चेपाङले जनाए । उक्त विद्यालयका प्रधानाध्यापक कमला भण्डारीका अनुसार संरक्षणमा रहेका शिशुदेखि कक्षा ४ सम्म अध्ययन गर्ने बालबालिका छन् । उक्त विद्यालयमा ६८ चेपाङ बालबालिका अध्ययन गरिरहेको प्रधानाध्यापक भण्डारीले बताए । विद्यालयमै राखिएका १९ बालबालिकाबाहेक अन्य विद्यार्थी पनि कापी कलमबिनै विद्यालय आउने गर्छन् ।