Kathmandu Press

माथिल्लो त्रिशूली थ्री ‘ए’ को ३० मेगावाट विजुली जोडियो प्रसारण लाइनमा  

काठमाडौं, जेठ २ : माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ। आयोजनाको ३० मेगावाट (पहिल....

माथिल्लो त्रिशूली थ्री ‘ए’ को ३० मेगावाट विजुली जोडियो प्रसारण लाइनमा  

काठमाडौं, जेठ २ : माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा जोडिएको छ। आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्वीचयार्डको कन्ट्रोल रुममा रहेको स्वीच दबाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरे। आयोजनाबाट परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ।  

आयोजनाको विद्युत सिम्लेमा रहेको विद्युत गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थस्थित सबस्टेसनमा जोडिएको छ। शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत उत्पादन गरिने छ।  त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ। यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत उत्पादन सुरु हुनेछ। आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। 

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए सञ्चालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युतको परिमाण घट्ने बताए। ‘लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ’,उनले भने,‘यसबाट उपत्यकाको विद्युत वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने छ।’

उनले त्रिशूली ३ ए पूर्ण रुपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलुकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशतको योगदान रहने बताए। यसबाट मुख्यरुपमा हिउँदको विद्युत माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्ने घिसिङले बताए।  

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत उत्पादन सुरु गर्ने अवस्थामा पुगेको हो। आयोजनाले नै काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ। यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ। 

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैँकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो। इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युतगृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी) सँग १४ जेठ २०६७ मा ठेक्का सम्झौता भएको थियो।  प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सिडब्लुई) ले पाएको थियो। 

१७ जेठ २०७१ भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो। विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो। भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो। 

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, जेठ २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्