ऐश्वर्य बालगृहबाट एक सय २२ बालबालिकाको उद्धार
काठमाडौ, जेठ २ : काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहबाट एक सय २२ बालबालिकाको उद्धार गरिएको छ।
बालबालिकालाई जोखिमपूर्ण अवस्थामा राखिएको स....
काठमाडौ, जेठ २ : काठमाडौंको सुकेधारास्थित ऐश्वर्य बालगृहबाट एक सय २२ बालबालिकाको उद्धार गरिएको छ।
बालबालिकालाई जोखिमपूर्ण अवस्थामा राखिएको सूचना पाएपछि प्रहरी टोलीले बुधबारराति उद्धार गरेको हो। उद्धार गर्न केन्द्रीय बालकल्याण समिति र प्रहरी प्रभाग महाराजगञ्जको टोली बालगृहमा पुगेको थियो।
बालगृहमा १५ बालबालिका रहेको खबर प्रहरीलाई प्राप्त भएको थियो। तर, बालगृह नजिकै रहेका अन्य घरबाट समेत गरी एक सय २२ बालबालिकालाई उद्धार गरेको केन्द्रीय बालकल्याण समितिका सूचना अधिकृत रामबहादुर चन्दले बताए।
बालगृहमा बालबालिकालाई खेल्ने, बस्ने ठाउँ नभएको र भएका कोठा पनि दुर्गन्धित पाइएको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले बताए।
बालगृह सञ्चालन गर्नको लागि आवश्यक पर्ने मापदण्ड पूरा नगरेको पाइएको उनले बताए। ‘बालगृहमा रहेका बालबालिकालाई खेल्ने, बस्ने वातावरण राम्रो हुनुपर्ने, उनीहरूलाई काममा लगाउन नपाइने, नियमित स्वास्थ्य परीक्षण हुनुपर्ने, बालगृह सफासुग्घर हुनुपर्ने लगायतका मापदण्ड हुन्छन् तर, सो बालगृहमा त्यस्तो कुनै व्यवस्था छैन,’ उनले भने।
हुम्ला, जुम्ला, डोल्पा, नुवाकोट, सिन्धुलीलगायत बिभिन्न जिल्लाका चार देखि १० वर्षसम्मका बालबालिकालाई पढाइदिन्छु भन्दै ल्याएको भएपनि विद्यालयमा समेत नपठाएको पाइएको छ। ‘कतिपय बालबालिकाले त खाना समेत खान नपाइएको, शरीरमा घाउ भएको अवस्थामा उद्धार गर्यौं। बालबालिकालाई अवस्था निकै दयनिय रहेको पाइयो,’ उनले भने।
केही बालबालिकाको अभभिावकले छोराछोरी राखिदिए बापत ३५ हजारदेखि एक लाख रुपैयाँसम्म दिएको पाइएको छ। बालगृह बालुवाटारकै निर्मला घिमिरेले सञ्चालन गर्दै आएकी थिइन्। निर्मला अहिले बिरामी भएर बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएको भन्ने खबर आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उद्धार गरेका बालबालिकालाई काठमाडौंमै रहेका विभिन्न पुनःस्थापना केन्द्रमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।