Kathmandu Press

चार वर्षमा पनि सकिएन जैसीदेवल पुनर्निर्माणको काम

काठमाडौं, पुस २० :  विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनर्निर्माण शुरु भएको चार वर्ष पूरा भए पनि अझै सम्पन्न...
चार वर्षमा पनि सकिएन जैसीदेवल पुनर्निर्माणको काम

काठमाडौं, पुस २० :  विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको जैसीदेवल पुनर्निर्माण शुरु भएको चार वर्ष पूरा भए पनि अझै सम्पन्न हुन सकेको छैन । 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त जैसीदेवल पुनर्निर्माण पुरातत्व विभागले २०७३ साउनमै शुरु गरेको हो । सार्वजनिक जानकारीका लागि पुनर्निर्माण गर्दा निर्माणस्थलमा राख्नुपर्ने लागत, अवधि, निर्माण व्यवसायी आदिको नाम समावेश हुने जानकारीमूलक सूचना पाटी नराखी अपारदर्शी काम भएको काठमाडौँ महानगरपालिका–२१ का पूर्व वडाध्यक्ष जुजुकाजी तण्डुकार बताउँछन् ।

“नेपाल संवत् ७०४ मा बनेको देवलको पुरानै इँटा प्रयोग गरेर काम शुरु भएको छ, निर्माणस्थलमा सार्वजनिक जानकारीका लागि राख्नुपर्ने सूचना पाटी राखिएको छैन, निर्माणअघि स्थानीयवासीसँग छलफलसमेत गरिएन, निर्माणपछि निर्माण व्यवसायी त अन्त्यै जान्छन्, निर्माणमा स्थानीयको स्वामित्व हुनुपर्छ”, देवलअघिको किराना पसलबाट पुनर्निर्माणको सूक्ष्म अवलोकन गरिरहेका उनले भने।

देवल पुनर्निर्माण गरिरहेको निर्माण व्यवसायीले माजुदेग: र दशअवतार मन्दिरसमेत पुनर्निर्माण गरिरहेकाले गत वर्ष चैतदेखि काम हुन सकेको छैन । माजुदेग: काठमाडौँ महानगरपालिकाको ठेक्कामा व्यवसायीले ठेक्का पाएको हो । दश अवतार मन्दिर भने विभागकै ठेक्कामा यही निर्माण व्यवसायीले जिम्मा पाएको हो । वरिपरि फलामको ठण्डी ठड्याएर राखेको १० महिनासम्म अलपत्र भएको स्थानीयवासी सुनमाया श्रेष्ठले गुनासो गरे ।

यस क्षेत्रकै तीनवटा सम्पदा पुनर्निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले कुनै पनि काम समयमा गरको छैन । २१ नं वडा सदस्य न्हुच्छेदेवी महर्जन फलाम ठड्याएर राखे पनि काम भएको नदेखिने बताउँछन् । ठेक्का गर्ने सरकारी निकाय र निर्माण व्यवसायीले समेत वडासँग समन्वय नगरेको जनप्रतिनिधिको भनाइ छ । 

पुनर्निर्माणमा पुराना सामग्रीको प्रयोग

विभागले पुराना निर्माण सामग्री टिकाउ हुने भएकाले प्रयोग गरिएको जनाएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर अनुसन्धानले प्राचीन निर्माण सामग्री टिकाउ हुने प्रमाणित गरेको बताउँछन् । कति पुराना र कति नयाँ सामग्री राखेर पुनर्निर्माण गर्ने भन्ने पारदर्शीरुपमा स्थानीयवासीलाई जानकारी गराइएको छैन ।

देवल निर्माण हेर्ने विभागका इन्जिनीयर पूर्णबहादुर श्रेष्ठ निर्माण व्यवसायीसँग भएको सम्झौताअनुसार जीर्ण नभएका सामग्री प्रयोग गर्न सकिने व्यवस्था गरिएको सुनाउँछन् । “निर्माण अवधि, निर्माण लागत, निर्माण व्यवसायीको नामलगायत जानकारी दिने सूचना पाटी राख्न पटकपटक भनिए पनि व्यवसायीले राखेका छैनन्”, उनले भने ।

निर्माण कम्पनी प्राकृतिक-सानो सुवाल-एसपी जेभीले देवल पुनर्निर्माण गरिरहेको हो । व्यवसायीका तर्फबाट देवल निर्माणमा खटिएका इन्जिनीयर प्रवीण श्रेष्ठ भने सूचना पाटी राखेकामा रक्सी खाएका मानिसले लिएर हिँडेको दाबी गर्छन् ।

निर्माणमा संलग्न दुई इन्जिनीयरको भनाइले अपारदर्शीरुपमा निर्माण शुरु भएको प्रस्ट हुन्छ । “देवल पुनर्निर्माणमा पुराना र नयाँ दुवैथरि निर्माण सामग्री प्रयोग गर्ने सम्झौता भएको छ, नयाँ ८० र पुराना २० प्रतिशत सामग्री प्रयोग गर्ने सम्झौतामा उल्लेख छ, तलदेखि माथिसम्म नयाँ र पुराना दुवैथरि निर्माण सामग्री मिसाएर काम हुन्छ”, उनले भने ।

विसं २०७४ असार मसान्तसम्म देवल पुनर्निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख थियो । विसं २०७३ साउन २८ गते देवल पुनर्निर्माणको सम्झौता भएको थियो । सम्झौता भइसकेपछि बेलायतको दुरहाम विश्वविद्यालय र विभागलगायतको समूहले देवल क्षेत्रमा उत्खनन गरेपछि काममा ढिलाइ भएको निर्माण व्यवसायी पक्षको भनाइ छ । देवल पुनर्निर्माणको लागत पाँच करोड ४६ लाख ६० हजार ७२८ छ। 
देवलको ऐतिहासिकता

देवल नेपाल संवत् ७०४ मा कान्तिपुर राज्यका बडाहाकिम लक्ष्मीनारायण जोशीले निर्माण गरेका हुन्। जोशीदेवल हुँदै कालान्तरमा अपभ्रंश भई जैसीदेवल नाम रहन गएको भनाइ छ । ककनी, रानीपौवा, जीतपुरफेदी, दगुर्नेपानीदेखिका जैसी बाहुनको निधन हुँदा शव टेकुमा जलाउन ल्याउँदा यहाँ बसेर कपाल काट्ने, सेतो कपडा फेर्ने, सक्खर, दही चिउरा खाने गरेकाले पनि यो देवललाई जैसीदेवल नामकरण गरिएको भनाइ छ ।

विसं १९८९ मा देवशम्शेरले देवलको जीर्णोद्धार गरेपछि यसलाई देवजागेश्वर महादेव पनि भन्न थालिएको स्थानीयवासी ८६ वर्षीय वृद्ध शङ्करमान रञ्जितकारले जानकारी दिए । त्यसअघि देवलमा स्थापना गरिएको महादेवलाई जागेश्वर महादेव भनिन्थ्यो । विसं २०१५ मा अञ्चलाधीश विष्णुमणि आचार्यको नेतृत्वमा स्थानीयवासीले फेरि देवलको जीर्णोद्धार गरे । त्यतिबेला जीर्णोद्धारको काममा संलग्न हुनेलाई अञ्चलाधीश कार्यालयले ज्यालास्वरुप गहुँ दिएको उहाँको स्मरणमा ताजा छ ।

जीर्णोद्धारपछि त्यसै वर्ष तत्कालीन महारानी रत्नराज्यलक्ष्मीले तीन हजार लिटर पानी अट्ने सिमेन्टको पानी ट्याङ्की बनाइदिनुभएको बताइएको छ । विसं २०४५ को भूकम्पले चर्किएको देवल २०६३ सालसम्म बन्न नसकेपछि स्थानीयवासीको सक्रियतामा  विभाग र काठमाडौँ महानगरपालिकाको सक्रियतामा रु २८ लाखको लागतमा जीर्णोद्धार भएको थियो । 

तत्कालीन समयमा बचेको पैसाले नजीकैको कृष्णमन्दिर पनि जीर्णोद्धार गरिएको पूर्ववडाध्यक्ष तण्डुकारले सुनाए। रातो मच्छेन्द्रनाथ राख्ने उद्देश्यले निर्माण गरिएको देवलमा पछि नराखिएको जैसीदेवल युथ क्लबका सदस्य राजेन्द्र मानन्धरले बताए । भक्तपुरको पाँचतले मन्दिर पनि रातो मच्छेन्द्रनाथ राख्नकै लागि बनाइएकामा पछि पाटनमा राखिएको स्थानीयवासीको भनाइ छ । रातो मच्छेन्द्रनाथ पाटनमा राखिएपछि यस ठाउँ जोशी एवम् जैसी देवलकै रुपमा प्रसिद्ध भयो । रासस
 

प्रकाशित मिति: १९:२२ बजे, सोमबार, पुस २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्