तीन किसिमका परिचय पत्रमार्फत किसानलाई पेन्सन
गुल्मीको छत्रकोट गाउँपालिकाले किसानका लागि निवृत्तिभरण कार्यक्रम सुरु गर्ने भएको छ । छत्रकोटले खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्दै समृद्ध किसान बनाउने उद्देश्यले निवृत्तिभरण कार्यक्रम सुरु गर्न लागेको हो । निवृत्तिभरण दिने योजना बनाउने छत्रकोट गुल्मीको पहिलो गाउँपालिका भएको जनाइएको छ ।
तम्घास– गुल्मीको छत्रकोट गाउँपालिकाले किसानका लागि निवृत्तिभरण कार्यक्रम सुरु गर्ने भएको छ । छत्रकोटले खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्दै समृद्ध किसान बनाउने उद्देश्यले निवृत्तिभरण कार्यक्रम सुरु गर्न लागेको हो । निवृत्तिभरण दिने योजना बनाउने छत्रकोट गुल्मीको पहिलो गाउँपालिका भएको जनाइएको छ ।
गाउँसभाबाट ‘किसान पेन्सन (किसान प्रोत्साहन) कार्यक्रम सञ्चालन कार्यविधि‘ ०७७’ पारित गरिएको छ । गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले कृषिमा यान्त्रीकरणको प्रयोगबाट उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक कृषि प्रणालीबाट प्रतिस्पर्धात्मक क्षमता बढाउने, प्राविधिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण संवद्र्धन एवं सदुपयोग गर्ने जानकारी दिए । उनले गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले किसानलाई निवृत्तिभरण दिन लागेको बताए ।
गाउँपालिकाले निवृत्तिभरण पाउने किसानलाई तीन वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गका किसानलाई हरियो, ‘ख’ वर्गको किसानलाई निलो र ‘ग’ वर्गको किसानलाई पहेँलो परिचयपत्र दिने योजना बनाएको छ ।
गाउँपालिकाले अहिले डाटा संकलन गरिरहेको र वास्तविक किसान पहिचानपछि कार्यविधि संशोधन गरेर वर्गअनुसार निवृत्तिभरण (प्रोत्साहन भत्ता) तोक्ने गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले जानकारी दिइन् ।
कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको ५ सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको पनि व्यवस्था गरिएको छ । कार्यविधिअनुसार पशुपक्षीको ‘क’ वर्गको लागि व्यक्ति वा व्यावसायिक फर्ममा गाईभैँसी पाँच माउ, बाख्रा २५ माउ, बङ्गुर १० माउ, कुखुरा बोइलर प्रजाति ५००, मौरीसहित मौरी घार २० र टर्की एक सय स्थानीय हाँस २५० हुनुपर्ने कार्यविधिमा रहेको छ ।
यसैगरी कृषितर्फ ‘क’ वर्गका लागि कागती/सुन्तला/अमिलो/आँप/लिची जातका १०० बोट, उत्पादन दिने तरकारी टर्नेल १०, च्याउ घर टर्नेल ५, बीजवृद्धि ५ रोपनी, कफी ५ रोपनी, उखु १० रोपनी, खाद्यान्य २५ रोपनी र केरा भुइँकटर प्रजाति एक हजार बोट हुनुपर्ने व्यवस्था कार्यविधिमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिए ।
यसैगरी पशुपक्षीमा ‘ख’ वर्गको लागि गाईभैँसी ४ माउ, बाख्रा १५ माउ, बङ्गुर ७ माउ, बोइलर कुखुरा प्रजाति ३००, मौरीसहित मौरी घार १५, टर्की ७५ र स्थानीय हाँस १५० हुनुपर्नेछ । त्यस्तै कृषिमा ‘ख’ वर्गको लागि उत्पादन दिने कागती /सुन्तला/अमिलो/आँप/लिची जातका ७० बोट, उत्पादन दिने तरकारी टर्नेल ७, च्याउ घर टनेल ३, बीज वृद्धि ३ रोपनी, कफी तीन रोपनी, उखु ७ रोपनी, खाद्यान्य २० रोपनी र केरा भुइँकटर प्रजाति ७०० बोट आवश्यक पर्ने उनले बताए ।
गाईभैँसी तीन माउ, बाख्रा १० माउ, बङ्गुर ५ माउ, बोइलर कुखुरा प्रजाति २००, मौरीसहित मौरी घार १०, टर्की ५० र स्थानीय हाँस १०० भएका पशुपक्षीमा ‘ग’ वर्गमा पर्नेछन् । यसैगरी कृषिमा ‘ग’ वर्ग लागि उत्पादन दिने कागती ÷सुन्तला÷अमिलो ÷आँप÷लिची जातका ५० बोट, उत्पादन दिने तरकारी टर्नेल ५, च्याउ घर टर्नेल दुई, बीज वृद्धि २ रोपनी, कफी दुई रोपनी, उखु २ रोपनी, खाद्यान्य ५ रोपनी र केरा भुइँकटर प्रजाति ५०० बोट हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।











