Kathmandu Press

ताप्लेजुङमा आलुको बीउ अभाव

फुङलिङ, पुस ८ : ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि बीउ अभाव हुँदा किसान चिन्तित भएका छन्। आलुको बीउ भण्डार मानिने  पक्ताङलुङ...
ताप्लेजुङमा आलुको बीउ अभाव

फुङलिङ, पुस ८ : ताप्लेजुङमा आलु रोप्ने समय शुरु भए पनि बीउ अभाव हुँदा किसान चिन्तित भएका छन्। आलुको बीउ भण्डार मानिने  पक्ताङलुङ गाउँपालिका– ६ हिमाली बस्ती घुन्सा गाउँमा यस वर्ष राम्रो फल नलागेपछि बीउको अभाव भएको हो।

घुन्सावासीको मुख्य बाली आलु हो। हिउँ र चिसोको कारणले अन्य बाली हुँदैन। यहाँ चैत महिनामा आलु रोप्ने र भदौमा खन्ने गरिन्छ। गत चैतमा १६ मुरी आलुको बीउ रोप्दा १० मुरी मात्र फलेको स्थानीय किसान टाँसी तेन्जीङ शेर्पाले बताए।  

घुन्सा गाउँमा हिमाली शेर्पा समुदायको ३३ घरपरिवार बसोबास गर्दै आएका छन्। यो समुदायले परापूर्वकालदेखि नै मुख्य बालीका रुपमा आलुखेती गर्दै आएको छ। यहाँ रातो, सेतो र सोलु गरी तीन प्रकारका आलु रोप्दै आएको छ। हरेक वर्ष मङ्सिर १५ देखि यहाँका किसान चौंरी र याकलाई बोकाएर तीन घण्टाको पैदलयात्रा हिँडी फलेटारसम्म आलु बिक्री गर्न जाने गर्दछन्। 

लेलेप, हेल्लोक, तापेथोक, साँघु, इखाबु, लिङ्खिम, खेजिनेमलगायतका तल्लो गाउँका समुदाय  मङ्सिर १५पछि कोदो र मकै बोकेर पाँच दिनको पैदल हिँडी फलेटार आलुको बिऊ साट्न पुग्छन्। यस वर्ष घुन्सामा राम्रो आलु नफलेपछि अधिकांश किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ। हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारणले विगतको जस्तो आलु उत्पादन नभएपछि बीउको अभाव भएको फक्ताङ्लुङ गाउँपालिकाका कृषि शाखा प्रमुख ओमप्रकाश शर्माले बताए। 

प्रकाशित मिति: २०:४७ बजे, बुधबार, पुस ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्