Kathmandu Press

‘टु’ : भियतनाम युद्धप्रति सत्यजित रायको मौन विद्रोह

विजयी पक्षले आफ्नो शक्ति प्रदर्शनपछि उसलाई पराजित पक्षको पुरानै अवस्थातर्फको यात्राले तर्साइरहन्छ भन्न रायले अन्त्यमा धनी बालकले आफ्नो सबै खेलौना र बाजा बजाइरहँदा पनि झ्याल बाहिरबाट बजिरहेको बाँसुरीको आवाज कोठामा गुञ्जिएको देखाएका छन्।
‘टु’ : भियतनाम युद्धप्रति सत्यजित रायको मौन विद्रोह

सन् १९६४ मा भारतीय सिनेमा निर्देशक सत्यजित रायलाई ‘इस्सो वल्र्ड थिएटर’ का लागि ‘सर्ट फिल्म’ बनाउन अनुरोध गरिएको थियो। यसअघि सत्यजित रायको लेखन÷निर्देशनमा केही फिचर फिल्म र एउटा डकुमेन्ट्री (सिक्किम) बनिसकेको थियो।

रायलाई फिल्म बंगाली परिवेश र कथा हुनुपर्ने तर भाषा (संवाद) अंग्रेजी हुनुपर्ने शर्त समेत राखिएको थियो। तर, रायले आफ्नो परिवेशको कथामा अर्को परिवेशको भाषाको प्रयोग गरेनन्। बरु, सर्ट फिल्म नै बिना संवादको बनाइदिए। रायले बनाएको सर्ट फिल्म थियो ‘टु’ ।

बिना कुनै संवाद, केवल दुई पात्र रहेको यो १५ मिनेटको सिनेमा रायले आजसम्म निर्माण गरेका सिनेमामध्ये सबैभन्दा कम चर्चित तर उत्कृष्ट सिनेमा मानिन्छ। सन् २००६ मा अस्कर एकेडेमीले रिस्टोरेसन गर्नुअघिसम्म सिनेमा खासै चर्चामा पनि थिएन। रिस्टोरेसनपछि भने सिनेमाले केही गति लियो। तर, तुलनात्मक रुपमा रायका अन्य सिनेमाभन्दा यो सिनेमा दर्शक र समिक्षक दुवैको आँखामा कम प¥यो।
‘टु’ दुई बालकले आफ्नो अस्तित्व प्रस्तुत गर्न गरेको संघर्ष हो।

Hardik ivf

सिनेमाको सुरुवात आर्थिक रुपले समृद्ध देखिने बालकले आफ्ना अभिभावकसँग विदाई मागेको दृश्यबाट सुरु हुन्छ। रायको हस्ताक्षर मानिने ‘लङ्ग सट’ यहाँ पनि प्रयोग गरिएको छ। सुरुवातमा ‘लो एंगल’बाट विस्तारै माथि उठेर ‘आई लेबल’सम्मको दृश्यबाट रायले प्रस्तुत गर्न खोजेको भाष्य उक्त बालक समृद्ध र सुविधा सम्पन्न छ भन्ने बुझिन्छ।

आफ्ना अभिभावकसँगको विदाईपछि कोठामा भएका महंगा र आधुनिक खेलौनासँग समय कटाइरहँदा अचानक सुनिएको बाँसुरीको धुनले उक्त बालकको ध्यान बिथोलिन्छ। प्रकृतिभन्दा पर विज्ञान नजिक रहेका खेलौनाबाट दिक्क भएका बेला आएको आवाजले उसको ध्यान तान्छ। र, यहाँ सिनेमाको अर्को पात्र एक बालकको प्रवेश हुन्छ, जो आर्थिक रुपमा कमजोर हुन्छ। 

रायले अगाडि धनी बालकलाई देखाउन प्रयोग गरेको क्यामेरा ठीक विपरीत एंगलमार्फत दोस्रो (गरिब) बालकलाई प्रस्तुत गरेका छन्। ‘हाई एंगल’ सटबाट विस्तारै उनले पात्रलाई प्रवेश गराएका छन्, जसले उसको जीवनशैली र अवस्था अघिको बालकको भन्दा कमजोर भएको चित्रण गरिदिन्छ।

दुई बालकले एकअर्कासँगको देखादेखपछि उनीहरुबीच आफ्ना खेलौनालाई लिएर प्रतिस्पर्धा चल्छ। एकातिर धनी बालकले आफ्नो महंगो र अत्याधुनिक खेलौनाको बलमा गरिब बालकलाई कमजोर देखाइरहेको हुन्छ। अर्कातिर, आफूसँग भएकोभन्दा बलियो खेलौना देखेपछि गरिब बालक चुपचाप चंगा उडाउन सुरु गर्छ। तर, त्यो बेला पनि धनी बालकले आफ्नो खेलौना ‘एयर गन’ले गोली हानेर त्यो चंगालाई भुँइमा खस्न बाध्य बनाउँछ।

यसपछि भने रायले सिनेमाकै सबैभन्दा महत्वपूर्ण दृश्य प्रस्तुत गरेका छन्। आफूले सम्पूर्ण प्रयास गर्दा पनि आफूभन्दा समृद्ध बालकलाई जित्न असफल भएपछि निराश हुँदै गरिब बालक आफ्नो सुरुवातकै अवस्थामा फर्किएर हातमा बाँसुरी लिएर बजाउन थाल्छ। र, यहाँ ठीक विपरीत धनी बालक भने विजयको उत्सवमा रमाउन सक्दैन। बरु आत्मग्लानीमा पिरोलिन थाल्छ। उसका वरिपरि रहेका सबै महंगा खेलौनाबाट गुञ्जिरहेको आवास ककर्स र चर्को हुन्छ। तर, त्यसलाई घर बाहिर बाँसुरी बजाइरहेको बालकको धुनले जितिरहेको हुन्छ।

सत्यजित रायले पहिलो पटक निर्देशन गरेको सर्ट फिल्म थियो यो। यसअघि जातीय तथा वर्गीय असमानतासँगै अन्यलाई लिएर उनले सिनेमा निर्माण गरिरहेका थिए। विविधताको तिर्खा प्रायः सबै सर्जकमा अतुलनीय हुन्छ। सायद रायमा पनि थियो, जसलाई मेट्न उनले ‘टु’ निर्माण गरे।  

‘टु’ निर्माण गर्नुअघि रायलाई अति प्रभाव पारिरहेको थियो भियतनाम युद्धले। राय आफूले भियतनाम युद्धलाई लिएर ‘प्रतिद्वन्द्वी (सन् १९७० पहिलो पटक मञ्चन भएको नाटक)’, ‘गुपी गाइन बाघा बाइन (सन् १९६९ मा सार्वजनिक)’ जस्ता सिनेमामा भियतनामका आममानिस र उनीहरुमाथि अमेरिकाले गरेको दमनलाई प्रस्तुत गरेका थिए।

र, यी दुई सिनेमा अघि नै सन् १९६४ मा जब रायले ‘टु’ बनाए, त्यो भियनताम युद्धप्रति उनको विद्रोह थियो। सिनेमालाई कुन रुपमा बुझ्ने भन्ने दर्शकको परिवेश र पृष्ठभूमिले भूमिका पार्ने पक्ष हो। तर, यदि सिनेमालाई दर्शकले आफूसँग सम्बन्धित भएर बुझ्न सक्छन् भने सायद त्यो निर्देशकको खुबी र सिनेमाको सफलता हुन जान्छ।

रायको यो सर्ट फिल्ममाथि फरक परिवेश र पृष्ठभूमिका दर्शक तथा समिक्षकले आफ्नो विश्लेषण दिएका छन्। तर, स्वयं रायले भने अनुसार हेर्दा सिनेमाले भियतनाम युद्धप्रतिको मौन विद्रोहसँगै आधुनिक पूँजीवाद, मानिस र प्रकृतिबीचको  सम्बन्ध अनि अत्याधुनिक जीवनशैलीका कारण मानिस कति कुण्ठित हुन्छ भन्ने कुरा देख्न सकिन्छ।

रायले सिनेमामा धनी बालकलाई भियतनाम युद्धको क्रमका शक्ति राष्ट्र (जस्तै अमेरिका)को रुपमा चित्रण गरेका छन् भने गरिब बालकलाई युद्धबाट ग्रसित राष्ट्रको रुपमा। त्यसैले त, रायको सिद्धान्त अनुरुप युद्ध समाप्तीपछि जो क्षतविक्षत हुन्छ, ऊ चुपचाप आफ्नो पुरानै जीवनशैलीमा फकिन्छ र फेरि आफ्नो जीवनलाई पुरानै गतिशिलताका साथ सुचारु राख्छ भन्ने अर्थलाई गरिब बालकको विम्बले प्रस्तुत गरेको छ। अर्कातिर, विजय हुनुअघिसम्म आफ्नो शक्ति प्रदर्शन गरिरहनेहरु विजयपछि भने अन्योलतामा अल्झिन्छन् भन्ने धनी बालकमार्फत देखाइएको छ।

चंगालाई भुँइमा झारेपछि जब धनी बालक आफ्नो आधुनिक रोबटलाई चल्न छाडिदिन्छ भुँइमा, तब त्यो ढल्न पुग्छ। यो विम्बमार्फत रायले विजयपछि पतन पनि सँगै आउँछ भन्ने अर्थ दिन खोजेका छन्। सँगै युद्ध हुनु र नहुनुको अर्थ नै थिएन, त्यहीँ युद्ध गराएर धनी बालकले मात्र विजय हासिल गर्दा केही नभएको विम्बले त्यो बेलाको अवस्थालाई पनि चित्रण गरेको छ।

र, पराजित पक्ष आफू क्षतविक्षत भइसकेपछि फेरि पुरानै अवस्थामा फर्किरहँदा विजयी पक्षले आफ्नो शक्ति प्रदर्शनपछि उसलाई पराजित पक्षको पुरानै अवस्थातर्फको यात्राले तर्साइरहन्छ भन्न रायले अन्त्यमा धनी बालकले आफ्नो सबै खेलौना र बाजा बजाइरहँदा पनि झ्याल बाहिरबाट बजिरहेको बाँसुरीको आवाज कोठामा गुञ्जिएको देखाएका छन्।

सिनेमामा रायले दुई बालकको मनोविज्ञानलाई उत्कृष्ट रुपमा प्रस्तुत मात्रै नगरेर सम्पूर्ण मानवको मनोविज्ञानलाई चित्रण गरेका छन्। दुई बालकमा एकले एक्लोपनलाई कसरी बाँसुरी बजाएर आनन्दमा परिवर्तन गर्छ र अर्काले कसरी विनासबारे सोच्छ भन्ने कुरा देखाएर हरेक मानिसमा एक्लो हुँदा आउनसक्ने सोच ‘टु’मा देखिन्छ।

राय स्वयंलाई ‘टु’ अत्याधिक मन परेको आफ्नो सिर्जना थियो। उनले विभिन्न अन्तर्वार्तामा यसको प्रसंग जोडेका छन् भने आफ्नो जीवनीमा पनि योसँग जोडिएका किस्साबारे बताएका छन्। र, आफ्नै सिर्जना उनका लागि अर्को प्रेरणाको स्वरुप पनि बनिदियो।
‘टु’को सुरुवातमा आफ्ना अभिभावकलाई बिदा गरिरहेको दृश्यलाई रायले आफ्नो अर्को सिनेमामा पनि प्रयोग गरे।

सन् १९८० मा फ्रान्सको एक टेलिभिजन च्यानलका लागि निर्माण गरेको सर्ट फिल्म ‘पिकु’को सुरुवातमा रायले एक पटक आफ्नो कामबाट प्रेरणा लिएका छन्, जहाँ ‘टु’ कै सुरुवातको दृश्य ‘पिकु’को सुरुवातमा देखिन्छ।
 

प्रकाशित मिति: १७:०० बजे, शनिबार, पुस ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्