Kathmandu Press

‘कपिलवस्तुबाट चिनीमिल सर्लाही सर्‍याे, हाम्रो भुक्तानीको पनि भाका सरिरह्यो’ 

चार वर्षअघि कपिलवस्तुबाट महालक्ष्मी चिनी उद्योग सर्लाही सर्यो । तर, कपिलवस्तुका उखु किसानले पाउनुपर्ने भुक्तानी अझै पाएका छैनन् । ‘सबैले मिलेर उखुखेती गरेका थियौं,’ बिहीबार माइतीघरमा भेटिएका कुर्मी भन्छन्, ‘तर, मिल सरेपछि हामीले पाउनुपर्ने रकम पाएनौं ।’
‘कपिलवस्तुबाट चिनीमिल सर्लाही सर्‍याे, हाम्रो भुक्तानीको पनि भाका सरिरह्यो’ 
बच्चु यादव

काठमाडौं,  पुस ३ : कपिलवस्तुका उखु किसान उदयराज कुर्मी माइतीघरमा भइरहेको आन्दोलनमा तीन दिनदेखि सहभागी छन् । ६५ वर्षीय उनी दिनमा माइतीघर पुग्छन्, आफ्ना मागहरू उल्लेख भएको ब्यानर बोक्छन् र नारा लगाउँछन् । अनि, बास बस्न सुन्धारा वा गौशाला पुग्छन्। 

चिनी मिलले उखुको बक्यौता भुक्तानी नगरेकाले उखुकिसानले गएको वर्षदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएका छन् । सरकारले भुक्तानीमा समन्वय गर्ने भनी सधैँ उधारो सम्झौता गरेकाले सर्लाहीका उखुकिसान आइतबारदेखि आन्दोलनका लागि काठमाडौं छन् । यही खबर पाएका कुर्मी आन्दोलनमा सहभागी हुन मंगलबार कपिलवस्तुबाट आएका हुन् । चार वर्षअघि कपिलवस्तुबाट महालक्ष्मी चिनी उद्योग सर्लाही सर्यो । तर, कपिलवस्तुका उखु किसानले पाउनुपर्ने भुक्तानी अझै पाएका छैनन् । ‘सबैले मिलेर उखुखेती गरेका थियौं,’ बिहीबार माइतीघरमा भेटिएका कुर्मी भन्छन्, ‘तर, मिल सरेपछि हामीले पाउनुपर्ने रकम पाएनौं।’ 

Hardik ivf

कुर्मीसहित करिब १५ जनालाई कपिलवस्तुका उखु किसानले अगुवा बनाएर आन्दोलनमा सहभागी हुन पठाएका हुन् । कपिलवस्तुका उखु किसानले करिब ७ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । उनको मात्रै एक लाख रुपैयाँ बाँकी छ । भुक्तानी रकम पाउनुपर्ने मागसहित अघिल्लो वर्ष भएको आन्दोलनमा पनि उनी राजधानी आएका थिए । त्यो बेला सरकारले बाँकी भुक्तानीमा समन्वय गर्ने भनी सम्झौता गर्यो । उनी कपिलवस्तु फर्किए । तर,  सम्झौता कार्यान्वयन भएन।

अहिले उनीसँग सरकारले गरेको सम्झौताको फोटोकपी, उद्योगले दिने चिठीहरू छन् । उनी भन्छन्, ‘हामी त आफूले पाउनुपर्ने पैसा लिन आएका हौं । चिठीले के हुन्छ ? हामीलाई आफ्नो पसिना परेको उखुको भुक्तानी चाहियो ।’

उदयराज कुर्मी

कुर्मी र उनको क्षेत्रका किसानले २०५२ मा कपिलवस्तु महालक्ष्मी चिनी उद्योग स्थापना भएसँगै उखुखेती सुरु गरेका हुन् । सुरुवातदेखि नै उद्योगले पूर्ण भुक्तानी दिएर कारोबार गरेको थिएन । ‘सरकारले उद्योगलाई दबाब दिने हो भने हामीले पैसा पाउँथ्यौं,’ उनी भन्छन्, ‘तर, सरकारले किसानलाई जनता सम्झिएन । चार वर्षअघि मिल सर्यो । त्यस अघिदेखिकै भुक्तानी बाँकी छ ।’

कुर्मीनजिकै थिए, ७६ वर्षीय बच्चु यादव । उनी पनि कपिलवस्तुबाटै आएका हुन् । अहिले उनी काठमाडौंको गौशाला क्षेत्रमा बसिरहेका छन् । केही दिनयता आफूले अस्वस्थ महसुस गरिरहेका छन् । उनी भन्छन्, ‘खाना रुचेको छैन । यहाँ चिसोले सताएको छ ।’

यादव पनि कुर्मीजस्तै कपिलवस्तुबाट अगुवाको रूपमा आन्दोलनमा सहभागी हुन आएका हुन् । उनको मात्रै २ लाख ४८ हजार रुपैयाँ भुक्तानी बाँकी छ । सरकारले आफूहरूलाई वास्ता नगरेको यादव गुनासो गर्छन् । उनी भन्छन्, ‘सरकारले वास्ता गर्ने भने मिलले यस्तो गर्दैनथ्यो । हामीले आफ्नो पसिनाको मूल्य पाउन आन्दोलन गर्नुपर्ने भयो ।’

आन्दोलनमा सहभागी कपिलवस्तुकै अर्का ६४ वर्षीय जगदम्बा चौधरीले कपिलवस्तुमा मिल रहँदासम्म चार बिघा जग्गामा उखुखेती गरेका थिए । अहिले उखुको भुक्तानी माग्न काठमाडौं आउनुपर्ला भनेर उनले सोचेकै थिएनन् । उनका अनुसार, सरकारले २०७२ मा उखु किसानले प्रतिक्विन्टल उखुको पाँच सय रुपैयाँ पाउने निर्णय गरेको थियो । ‘उखु किन्दा प्रतिक्विन्टल ४ सय ७५ उद्योगले किसानलाई दिने र बाँकी २५ रुपैयाँ सरकारले अनुदानका रुपमा दिने निर्णय भएको थियो,’ यादव भन्छन्, ‘उद्योगले भुक्तानी दिएको छैन नै, त्यसमाथि सरकारले दिने भनेको अनुदान पनि हामीले पाएका छैनौं । सरकारले त्यो रकम पनि उद्योगलाई नै दिएको भन्छ ।’

सरकारले उद्योगलाई उपलब्ध गराएको भनिएको रकम कृषकलाई उपलब्ध गराउनुपर्ने उनी बताउँछन् । कपिलवस्तुबाट २०७२ मा महालक्ष्मी चिनी उद्योग सर्लाही सरे यता निरन्तर आफ्नो क्षेत्रका किसानहरूले आन्दोलन गरिरहेको यादवको भनाइ छ।

बच्चु यादव

‘पोहोर सम्झौता भएपछि सरकारले हाम्रो रकम दिलाउँछ भन्ने लागेको थियो,’ यादव भन्छन्, ‘तर, नौवटा चिनी उद्योगलाई सरकारले कृषकको भुक्तानी उपलब्ध गरायो । हामीले पाउनुपर्ने महालक्ष्मीमा भने सरकारको ध्यान गएको छैन ।’

मंगलबार उद्योगमन्त्री लेखराज भट्टले ‘माइतीघरमा आन्दोलन गर्ने किसान होइनन्, बिचौलिया हुन्’ भनेका थिए । उद्योगमन्त्रीको यस्तो भनाइप्रति उखुकिसानहरू आक्रोश र खिन्नता व्यक्त गर्दै भन्छन्– हामी उखु किसान भएको प्रमाण छ । यादव भन्छन्, ‘सरकार आफूले नै दिन्छु भनेको अनुदान रकम दिन चाहन्न । उद्योगले पनि हामीलाई आफूले दिनुपर्ने भुक्तानी दिँदैन । सरकार र उद्योगकै मिलेमतोमा हामीमाथि यस्तो भएको छ ।’

कपिलवस्तुका यी अगुवाहरू यसपालि आफूहरूको भुक्तानी लिएर मात्रै जाने बताउँछन् । ‘हामीलाई अगुवाको रुपमा पठाएका छन्,’ कुर्मी भन्छन्, ‘हामीमाथि सबैको विश्वास छ । आफ्नो भुक्तानी लिनुछ । यसपालि सम्झौता, चिठी–पत्र होइन, आफ्नो पैसा लिएर जान्छौं।
 

प्रकाशित मिति: १७:२३ बजे, शुक्रबार, पुस ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्