विराटनगरका विद्यालयमा पनि आजदेखि पठनपाठन
विराटनगर, पुस २ : कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन्।विराटनगर महानगरपालिकाले मंसिर २१ गते गरेको...
विराटनगर, पुस २ : कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन्।
विराटनगर महानगरपालिकाले मंसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्। महानगरले सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्याललय सञ्चालन गर्न सात बुँदे विकल्प दिएको थियो।
सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, अलगअलग समयमा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने, कक्षालाई पहिले र दोस्रो कक्षापछि शुरु गर्ने, कक्षा सञ्चालनको घण्टी छोट्याउने, पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थीलाई अर्को दिन वा सिफ्टमा सञ्चालन गर्नेगरी पालैपालो कक्षा सञ्चालन गर्ने र सातामा केही दिनमात्र कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि बनाइएको नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले बताए।
विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने जनाएको छ। मोरङमा रहेका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका अन्य स्थानमा भने विद्यालय सञ्चालन भइसकेका छन्।












