Kathmandu Press

असन जोगाउन स्थानीय आन्दोलित

काठमाडौं, वैशाख २७ : गुठी संस्थानले असनको ऐतिहासिक पुरातात्विक सम्पदा भत्काएर नयाँ व्यापारिक भवन बनाउन एक सहकारीलाई ‘लीज’ मा दिएपछि स्थानी....

असन जोगाउन स्थानीय आन्दोलित
रिवाज राई

काठमाडौं, वैशाख २७ : गुठी संस्थानले असनको ऐतिहासिक पुरातात्विक सम्पदा भत्काएर नयाँ व्यापारिक भवन बनाउन एक सहकारीलाई ‘लीज’ मा दिएपछि स्थानीयवासी आन्दोलित भएका छन्।

करिब पाँच सय वर्षपुरानो असनको अशोकवृक्ष विहार भत्काउन लागेपछि उक्त घर प्रयोग गर्दै आएका व्यक्तिसँगै स्थानीय पनि सडकमा उत्रेका हुन्। उनीहरूले शुक्रबार पत्रकार सम्मेलन गरी विरोध जनाएका हुन्। कोठुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीका अनुसार, २०७० फाल्गुनमा गुठी संस्थानसँग भएको सम्भौतामा भूबहाल कर बुझाउञ्जेलसम्म सन्तान दरसन्तानले त्यही घरमा बस्न पाउने हो। ‘पुरानो घरहरु मर्मत या पुनर्निर्माण गर्नुपरे पनि स्थानीयलाई प्राथमिकतामा राख्नु पर्ने भन्ने सम्झाैतामा उल्लेख छ’, उनले भने।

Hardik ivf

केही दिनअघि मात्रै गुठी संस्थानले तत्काल घर खाली गर्न तीनदिने पुर्जी जारी गरेपछि त्यसविरुद्ध शुक्रबार असनचोकमा विरोध कार्यक्रम गरेको हो। सायमीले भने, ‘असन धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक हिसाबले महत्वपूर्ण स्थान हो। यस्तो ऐतिहासिक स्थानमा गुठी संस्थानले एउटा निजी कम्पनीलाई दिएर व्यापारिक महल बनाउने योजना अघि सोरेको छ। जब कि परापूर्वकालदेखि नै यहाँ नेवार समुदायका १४ स्थानीय परिवार बसोबास गर्दै आउनुभएको छ।’

गुठी संस्थानको कदमबाट धर्म, संस्कृति, र परम्परा बचाएर बसेका स्थानीयलाई विस्थापित हुने चिन्ता व्यक्त गरे। गुठीले जुनसुकै हालतमा पनि बस्ती हटाउँछु भन्ने अडान राखेको बताए। अहिले स्थानीय एक जुट भएर विरोध गरेकै कारण बस्ती हटाइ नसकेको पनि बताए। उनका अनुसार, तीन परिवार त्यहाँ बसिरहेका छन् भने सात परिवार चाहिँ अन्यत्रै बसेर पसल मात्रै चलाइरहेका छन्।

गुठीको निर्णयबाट प्रत्यक्ष प्रभावित सजिव बज्राचार्यका अनुसार, गुठी संस्थानसँगको करार अनुसार, बहाल तिरुन्जेलसम्म सन्तान, दरसन्तानले भोगचलन गर्न पाउने भन्ने उल्लेख छ। हरेक पाँच वर्षमा बहाल कर ५ प्रतिशतले वृद्घि गर्ने उल्लेख छ। करारको दोस्रो बुँदामा पुरानो घर पुनर्निर्माण गर्नुपर्दा पनि त्यहाँ रहेका १४ घरधनीकै सहमतिमा गर्ने र उनीहरुलाई नै प्राथमिकता दिने भन्ने छ।

‘तर अहिले हामीलाई कुनै जानकारी नदिइकन २०७४ सालको भदौंमा बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थालाई २५ वर्षका लागि लिजमा दिएको रहेछ’, उनले भने, ‘हामीले पुरानो घर भत्काएर पुरानै ढांचामा नयाँ बनाउँछौँ भन्दा पनि गुठी संस्थान मौन छ।’

बारम्बार पत्र पठाउदां पनि गुठी सस्थान मौन भएपछि स्थानीयले फागुन २७ गते जिल्ला अदालतमा निवेदन दियो।स्थानीयको मुद्दा विचाराधीन हुँदाहुँदै २०७५ बैशाख ११ गते गुठी संस्थानले वडामा पत्र पठायो। पत्रमा लेखिएको छ, ‘यो पत्र पेश गरेको ३ दिनभित्र घर खाली गराउनू।’ गुठीको निर्णयविरुद्ध अभियानकर्ता उमेश स्थापितले भने, ‘हामी कोठु ननी मात्र होइन, नेवारी संस्कृति र सम्पदा बोकेको असन नै बचाउने अभियानमा छौं।’

स्थापितले नापी विभागबाट चलखेल भएकोमा छानविनको पनि माग गरे। उनले भने, ‘भूमाफिया हरुको विगविगी भयो भने असनजस्तै नेवारी सम्पदाहरु लोप हुने डर छ।’ उनले पुरातात्विक सम्पदा बचाउन सबै सँग सहयोगका लागि अपील पनि गरे। 
 

प्रकाशित मिति: १९:४७ बजे, शुक्रबार, वैशाख २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्