Kathmandu Press

‘जीवन जिउने काइदा’का लेखकको ‘वरिपरि नै सर्वोपरि’ आउँदै

काठमाडौं, वैशाख २७ : ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ पुस्तकका लेखक जीवनकुमार प्रसाईको नयाँ पुस्तक ‘वरिपरि नै सर्वोपर....

‘जीवन जिउने काइदा’का लेखकको ‘वरिपरि नै सर्वोपरि’ आउँदै

काठमाडौं, वैशाख २७ : ‘जीवन जिउने काइदा’ र ‘सँधै तन्नेरी’ पुस्तकका लेखक जीवनकुमार प्रसाईको नयाँ पुस्तक ‘वरिपरि नै सर्वोपरि’ आउन लागेको छ।

यसमा उनले हामी र हाम्रो वरपर रहेको वातावरणका बैज्ञानिक कुरालाई रोचक शैलीमा प्रस्तुत गरिएको जनाएको छ। यसलाई पनि नेपालय पब्लिकेसन्सले बजारमा ल्याउन लागेको हो।

लेखक प्रसाई अमेरिकाको बर्मिंगमस्थित युनिभर्सिटी अफ अल्बामामा स्वास्थ्यसम्बन्धी विषयमै अध्ययन अनुसन्धानरत छन्।  उनी दुई दशकदेखि जडिबुटी र खाद्यपदार्थमा रहेको पोलिफेनोल, क्यान्सरलगायत रोगहरूको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्।

Hardik ivf

नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)सँग समेत आवद्ध प्रसाईले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधी गरेका हुन्।

अघिल्ला दुई पुस्तकमा खानपान र स्वस्थ्य जीवनशैली समेटेका उनले यस पुस्तकमा भने प्रकृतिबारे वर्णन गरेको नेपालयले जनाएको छ।

यसमा उनको मन्त्र छ :

जोगाएर राखौँ

हावामा अक्सिजन

जमिनमाथि वनस्पति

जमिनमुनि पानी

किनकि

यिनैमा टिकेको हुन्छ

हामी सबैको जिन्दगानी ।

प्रसाईले आफ्नो अनुसन्धानबाट फेला पारेका कुरा पनि पुस्तकमा उल्लेख गरेको नेपालयले जनाएको छ। जस्तो कि शरीरको प्रतिरक्षा प्रणालीलाई सबल बनाउने फाइटोकेमिकल र पोलिफेनोल हाम्रो शरीरले कहाँबाट कसरी प्राप्त गर्छ र त्यस्तो गुणकारी तत्व कतिवटा बनस्पतिमा पाइन्छ भन्ने कुरा समेत पुस्तकमा उल्लेख गरिएको छ।

मानवीय गल्तीले गर्दा दही र तोफुजस्ता लाभकारी खाद्यपदार्थहरु कहिले र कसरी उत्पादन हुनपुगे भन्ने रोचक जानकारी पनि पुस्तकमा छन्। ‘बदलिँदो समयसँगै हाम्रो खानपान र जीवनशैलीमा आइरहेको परिवर्तन र त्यसका सकारात्मक नकारात्मक पक्षहरु केलाइएका पुस्तकलाई पाठकहरुले औधी मन पराएको पायौं,’ पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भनिन्, ‘त्यस्तैले प्रसाइको तेस्रो पुस्तक ल्याउन लागेका छौं।’

यो पुस्तक जेठको पहिलो साता सार्वजनिक गरिने नेपालयले जनाएको छ।

 

प्रकाशित मिति: १३:२२ बजे, शुक्रबार, वैशाख २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्