मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते
पाँचथर, मंसिर २५ : मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण...
पाँचथर, मंसिर २५ : मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे रहेका छन्।
दुर्घटनामा सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन्।हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन घाइते भएकी हुन्।
मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नंको मोटरसाइकलसहित उनीहरुलाई स्थानीयवासीले आज बिहान फेला पारेका थिए। प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामा कालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ। मोटरसाइकल सडकबाट करिब ३० मिटर तल झरेको पाइएको छ। मध्यरात दुर्घटना भएको स्थानीयवासीको अनुमान छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए।












