Kathmandu Press

अर्थमन्त्रीलाई डा.बाबुराम भट्टराईको सुझाव : अलोकप्रिय हुने आँट गर्नुहोस्

काठमाडौं, वैशाख २५ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अलोकप्रिय बनेर भएपनि अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा.युवराज खतिवडालाई सुझाव दिएक....

अर्थमन्त्रीलाई डा.बाबुराम भट्टराईको सुझाव : अलोकप्रिय हुने आँट गर्नुहोस्
रासस

काठमाडौं, वैशाख २५ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अलोकप्रिय बनेर भएपनि अर्थतन्त्रमा सुधार ल्याउन अर्थमन्त्री डा.युवराज खतिवडालाई सुझाव दिएका छन्।

संसद्को अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका  भट्टराईले बजेट निर्माण गर्दा राजनीति र अर्थतन्त्रको यथार्थको भिन्नताले अर्थमन्त्रीलाई सधैँ पिरोल्ने उल्लेख गर्दै लोकप्रियभन्दा पनि संरचनागत सुधारका क्षेत्रमा ध्यान दिनुपर्ने बताए।

‘नीति तथा कार्यक्रम हेर्दा राजनीति केन्द्रीत भएको जस्तो देखिएको छ तर, बजेट निर्माण देशलाई हेरेर संरचनागत सुधारतर्फ केन्द्रीत हुनुपर्छ,’ डा.भट्टराईले भने, ‘अर्थमन्त्रीले अलोकप्रिय हुने आँट गरेर सुधारको काममा अघि बढ्नु पर्छ ।’

अर्थमन्त्री डा.युवराज खतिवडाले वित्तीय स्रोतबिना कार्यान्वयन नहुने भएकाले स्रोत हेरेर मात्रै लोकप्रिय बजेट ल्याउने बताए। संसदको अर्थ समितिको बैठकमा बोल्दै राजनीतिक एजेन्डालाई आर्थिक स्रोतले भ्याउने हदसम्मको लोकप्रिय बजेट बनाउने उनको भनाइ थियो।

‘बजेट भनेको पोलिटिकल पपुलिज्म र इकोनोमिक रियालिज्मको सन्तुलन हो। र हामी त्यसैको बीचबाट अघि बढ्ने हो,’ अर्थमन्त्री डा.खतिवडाले भने।

बजेटबाट नीतिगत र योजना निर्माण दुवैतर्फको सुधारका लागि आफूले ध्यान दिने उनको भनाइ थियो। ‘अहिले छलफलका क्रममा विस्तृत आयोजना प्रतिवेदन नभएका आयोजना बजेटमा समावेश नगर्नु भन्ने कुरा आयो, त्यसैअनुसारका निर्देशन प्राप्त भए हामीलाई पनि काम गर्न सहयोग हुने थियो,’ अर्थमन्त्री खतिवडाले भने ।

 

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, वैशाख २५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्