काबेली प्रसारण लाइनको दोस्रो खण्ड सम्पन्न, परीक्षण प्रसारण सुरू
काठमाडौं, वैशाख २२ : काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भएको छ।
आयोजनाअन्तर्गत सोयाक–फिदिम खण्....

काठमाडौं, वैशाख २२ : काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सम्पन्न भएको छ।
आयोजनाअन्तर्गत सोयाक–फिदिम खण्डको निर्माण सम्पन्न भएपछि शनिबारबाट परीक्षण प्रसारण सुरू गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। सोयाकबाट एउटा लाइन इलामको गोदक र अर्को लाइन झापाको लखनपुरतर्फ लगिएको छ।
सोयाकबाट दुवै लाइन पाँचथरको फिदिमस्थिति थापाटार सबस्टेसनमा जोडिएको छ। ४२.८८ किलोमिटर लम्बाई भएको प्रसारण लाइनको दोस्रो खण्डमा १२६ वटा टावर छन्। ‘निर्माणमा स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको समस्या झेल्दै रुग्ण अवस्थामा पुगेको यो खण्ड स्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय लगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौं’, घिसिङले भने।
उनले फिदिम–अमरपुर (पाँचथर) तेस्रो खण्डको निर्माण अगामी असारभित्रमा सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइने बताए।
पाँचथर र ताप्लेजुङमा रहेका कावेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि कावेली करिडोर निर्माण गरिएको हो। झापाको लखनपुरबाट सुरू भएको ९१ किलोमिटर प्रसारण लाइन इलाम, पाँचथर, तेह्रथुम हुँदै पाँचथरकै अमरपुरसम्म पुग्छ।
प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माण गरिएको हो। आयोजनाले निर्माण गर्नु पर्ने दुई सय ६१ वटा टावरमध्ये तेस्रो खण्डको एउटाको मात्रै काम बाँकी छ।
लखनपुर–गोदक पहिलो खण्डको ३५ किलोमिटर प्रसारण लाइन २०७२ को असोजबाटै सञ्चालनमा आइसकेको छ। आयोजनाले यसअघि नै दमक, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सबस्टेसनको निर्माण सम्पन्न गरी संचालनमा ल्याइसकेको छ।
काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४.९ मेगावाटको हेवाखोला ‘ए’ र २२.१मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिने छन्। हेवाखोला ‘ए’ अहिले सञ्चालनमा छ भने तल्लो हेवाखोला निर्माणको अन्तिम चरणमा छ।
हेवाखोला ‘ए’को विद्युत् अहिले अस्थायी रुपमा ३३ केभी प्रसारण लाइनमा जोडिएको छ। दुवै आयोजना थापाटार सबस्टेसनमा जोडिने छन्।
कावेली करिडोर प्रसारण लाइन निर्माण करिव १० वर्ष अघि सुरु गरिएको थियो। ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको ‘राइट अफ वे’मा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइ लगायतले आयोजनाको काम ढिलाइ भएको हो।
तीन करोड १० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो।











