हुलाकी राजमार्ग निर्माणको अवरोध हट्यो
नेपालगञ्ज, वैशाख २१ : नेपालगञ्ज–बघौडा हुलाकी राजमार्गको नरैनापुरस्थित मटेहिया खण्डमा रहेको अवरोध हटेको छ।
नेपालगञ्जदेखि नरैनापुर....
नेपालगञ्ज, वैशाख २१ : नेपालगञ्ज–बघौडा हुलाकी राजमार्गको नरैनापुरस्थित मटेहिया खण्डमा रहेको अवरोध हटेको छ।
नेपालगञ्जदेखि नरैनापुर गाउँपालिकाको कटकुइँयासम्मको निर्माणाधीन हुलाकी राजमार्गअन्तर्गत नरैनापुर गाउँपालिका–५ मटेहियास्थित निर्माण कार्यमा देखिएको अवरोध, सडक नक्साङ्कन, मुआब्जा विवाद साम्य भएपछि एक हप्तादेखि निर्माण कार्यले गति लिएको छ।
चालु हुलाकी सडकखण्ड भन्दा फरक सर्भे उत्तरतर्फ नापी भएपछि उत्पन्न विवाद बढ्न गई २०७५ वैशाखदेखि सडकको निर्माण कार्य अवरुद्ध रहेको थियो। बाँके क्षेत्र नं १ का प्रदेशसभा सदस्य कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह, स्थानीय जग्गाधनीलगायत सरोकार पक्षसँग नियमित संवादमार्फत आपसी विश्वास कायम भएपछि विवाद साम्य भएको हो।
हालसम्म १७ किलोमिटर सडक कालोपत्रे बनिसकेको गणपति ग्रुप कन्सट्रक्शनका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिए। उनका अनुसार एक हप्ताभित्र थप पाँच किलोमिटर सडक कालोपत्रे गर्ने र बाँकी ग्राभेलको कामलाई तीव्रता दिइनेछ।
हाल चालु सडकलाई नै कायम राख्ने गरी निर्माण कार्यलाई अविलम्ब बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको व्यक्तिगत जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालु सडकमा पर्ने जग्गाको मुआब्जा १० मिटर दिने कुरामा लिखित सहमति भए पनि दुईजना जग्गाधनीले असमहति जनाएपछि सडक निर्माण कार्य रोकिन गएको थियो।
जग्गाधनी बाबुलाल यादव र मासुम अलीलाई निर्माण कार्यमा अवरोध नगर्न गरिएको पटक-पटकको आग्रहपछि अहिले सहज स्थितिमा निर्माण कम्पनीले माटो पटान, ग्राबेल, रोलरलगायतका कार्य बढाएको छ। हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो।
निर्माण कार्य आगामी असार मसान्तसम्म पूरा गर्नु पर्ने समयसीमा रहेको छ। हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहे पनि पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति गु्रप कन्ट्रक्सनलाई दिएको थियो। रासस