Kathmandu Press

दाइजो कुप्रथा : पतिद्वारा जलाइएकी कञ्चन मण्डलको मृत्युलगत्तै निर्मला यादवको पनि मृत्यु

काठमाडौं, वैशाख १६ : ‘चाहेजति’ दाइजो नपाएका कारण असन्तुष्ट रहँदै आएका पति र सासूद्वारा जलाइएकी सिरहाकी २१ वर्षीय कञ्चन मण्डलको मृत्यु भएको....

दाइजो कुप्रथा : पतिद्वारा जलाइएकी कञ्चन मण्डलको मृत्युलगत्तै निर्मला यादवको पनि मृत्यु
इन्द्रसरा खड्का

काठमाडौं, वैशाख १६ : ‘चाहेजति’ दाइजो नपाएका कारण असन्तुष्ट रहँदै आएका पति र सासूद्वारा जलाइएकी सिरहाकी २१ वर्षीय कञ्चन मण्डलको मृत्यु भएको तीन दिन नबित्दै दाइजोकै निहुँमा जलाइएकी धनुषाकी २० वर्षीया निर्मला यादवको पनि मृत्यु भएको छ।

कीर्तिपुर अस्पतालमा ११ दिनदेखि जीवन र मरणको दोसाँधमा रहेकी निर्मलाको सोमबार अपराह्न ४ बजे मृत्यु भएको डीसपी अनिल कुमार खड्काले जनाएका छन्। यसअघि, काठमाडौंको सुष्मा कोइराला मेमोरियल ट्रष्ट अस्पतालमा उपचाररत मण्डलको पनि गत शुक्रबार मृत्यु भएको थियो। 

कञ्चनलाई झैं निर्मलालाई पनि दाइजोकै निहुँमा आफ्नै पतिले जलाएका थिए।

Hardik ivf

‘नेपालमा छाला पाइँदैन रहेछ। भारतबाट मगाउनुपर्ने रहेछ। भारतबाट मगाउने पैसा छैन।’

निर्मलाको शरीरको ४५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। गर्दनदेखि मुनिको कुनै भाग सग्लो थिएन। निर्मलालाई बचाउने भए नयाँ छाला प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरू बताएका थिए। यसैले, निर्मलाको परिवार एक सातादेखि छाला खोजिरहेका थिए। 

काठमाडौं प्रेससँगको भेटमा निर्मलाका भाइ जितकुमार यादवले भनेका थिए, ‘नेपालमा छाला पाइँदैन रहेछ। भारतबाट मगाउनुपर्ने रहेछ। भारतबाट मगाउने पैसा छैन।’

निर्मलाको विहे २०७५ साल असार १८ गते मुकेश यादवसँग भएको थियो। निर्मलाको परिवारले दाइजोस्वरुप मुकेशको परिवारलाई ३ लाख रुपैयाँ नगद र २ तोला सुन दिएको थियो। दराज, सोफा र टिभीलगायत भाँडाकुँडा पनि दिएको थियो।

निर्मलाका दाइ राकेश भन्छन्, ‘धेरै दिनसक्ने हाम्रो हैसियत थिएन। हैसियत अनुसार दिएकै हो।’

तर, ‘पर्याप्त’ दाइजो नपाएको भन्दै मुकेश असन्तुष्ट रहँदै आएका थिए। 

यसरी भयो घटना

गत वैशाख ५ गते निर्मला विहानै उठिन्। खाना पकाइन्। सासू र ससुरा दुबै घरमै थिए। 

मुकेश विहान सबेरै घरबाहिर निक्लिए। उनी विहान ११ बजेतिर फर्किए र खाना खाईवरी नुहाउन थाले। निर्मलाले मुकेशलाई खाना खान भनिन्। तर, मुकेश खाना नखाई फेरि घरबाहिर निस्किए।

निर्मला घाँस काटेर बेलुकी ४ बजेतिर घर फर्किन्। मुकेश पनि घर आइसकेका रहेछन्। तर, खाना खाएका रहेनछन्। निर्मलाले मुकेशलाई फेरि खाना खान आग्रह गरिन्। 

मुकेश एक्कासि झन्किए। ‘जतिबेला पनि कच्कच्’ नगर भन्दै निर्मलामाथि झम्टिए। 

उनको रीस शान्त भएन। लछार्दै पछार्दै कोठाभित्र लगे र मट्टीतेल छर्की आगो लगाइदिए। भाग्लान् भनेर बाहिरबाट चुकुल लगाई मुकेश बेपत्ता भए। 
जल्न थालेपछि निर्मला चिच्याउन थालिन्। निर्मलाका जेठाजू नागे यादव घरनजिकै बारीमा काम गर्दै थिए। धूँवा आइरहेको देखेपछि उनी आत्तिँदै भित्र पसे। निर्मला जलिरहेकै थिइन्। 

उनलाई हत्तपत्त जनकपुर अस्पताल लगियो। तर, त्यहाँ जलेको उपचार हुँदैन थियो। यसैले, उनलाई काठमाडौं ल्याइयो। 
 

प्रकाशित मिति: १९:५० बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्