पुनर्निर्माणको काममा फर्किन इञ्जिनियरहरू सहमत
काठमाडौं, वैशाख १६ : सामूहिक राजीनामाको घोषणा गरेका इञ्जिनियरहरू पुनर्निर्माणको काममा फर्कन सहमत भएका छन्।
नेपाल इन्जिनयर्....

काठमाडौं, वैशाख १६ : सामूहिक राजीनामाको घोषणा गरेका इञ्जिनियरहरू पुनर्निर्माणको काममा फर्कन सहमत भएका छन्।
नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त गरेका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपीडित जनताको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई विशेष ध्यान दिएर काममा लाग्न र गाउँपालिका तथा नगरपालिकाहरुमा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकहरुलाई निर्देशन दिए। काममा नगएर व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारवाही गर्ने भएको छ।
'प्राविधिकहरुका माग सम्बोधन भइसकेको अवस्थामा सम्पूर्ण प्राविधिकहरु प्रतिबद्ध भएर काममा लाग्नेछन्। यदि आगामी दिनमा काममा नगएर व्यवसायिक मूल्य मान्यता कायम गर्न नसकेको भेटियो भने त्यस्ता प्राविधिकहरुलाई राष्ट्रिय पुर्निर्माण प्राविधिकरणले विभागीय कारबाही गर्न सक्नेछ,' निर्णयमा उल्लेख गरिएको छ।
नेपाल इञ्जिनियर्स एशोसिएसनका महासचिव छविराज पोख्रेलले इञ्जिनियरिङ पेशाको गरिमालाई बढाउने गरी काम गर्न आग्रह गर्दै पुनर्निर्माणको कार्यलाई ढिला गर्न र अल्झाउन प्राविधिकहरुलाई छुट नभएको बताए। प्राविधिक अविनाश अमरले मागहरु पूरा भएकोमा सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व र नेपाल इञ्जिनियर्स एशोसिएसनका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए।
प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखेर आन्दोलन गर्दै आएकोमा गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो।










