मेक्सिकोमा पाइप पड्केर ८५ को मृत्यु
मेक्सिको सिटी, माघ ७ : मेक्सिकोको मध्य क्षेत्रमा तेलको पाइपलाइन विस्फोट हुँदा ८५ जनाको मृत्यु भएको छ ।
गत शुक्रबार भएको बिष्फोटनमा घाइते भएर अस्पतालमा उपचार ....

मेक्सिको सिटी, माघ ७ : मेक्सिकोको मध्य क्षेत्रमा तेलको पाइपलाइन विस्फोट हुँदा ८५ जनाको मृत्यु भएको छ ।
गत शुक्रबार भएको बिष्फोटनमा घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये केहीको मृत्यु भएको जनाएको छ । यस घटनामा ८५ जनाको मृत्यु भएको र ५८ जना घाइते भएको स्वास्थ्यमन्त्री जोर्गे एल्कोसेरले बताएका छन् ।
घाइते मध्ये चिन्ताजनक अवस्थामा रहेका केही व्यक्तिको भने मेक्सिको सिटीको अस्पतालमा उपचार भइरहेको मन्त्री जोर्गेले जानकारी दिए ।
स्थानीय समयानुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा तेल पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल निकाल्ने क्रममा भएको विस्फोटमा परी स्थानीयबासीको मृत्यु भएको हो ।
श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहोराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समय आगलागी हुँदा पाइप विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ ।
मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गरेका छन् । सानो गल्तीबाट भएको ठूलो क्षतिप्रति पश्चाताप गर्नु बाहेक अरु विकल्प नभएको उनले बताए ।
स्थानीय सरकारी अधिकारीका अनुसार पाइपलाइन विस्फोट भएको अवस्था करिब छ सयदेखि आठ सयसम्म स्थानीय बासिन्दा भेला भएका बताइएको छ । (रासस÷एएफपी)












