Kathmandu Press

नयाँ मुलुकी ऐनकाे प्रभाव : आठ महिनामा काठमाडौंका ७४६ पुरुषद्वारा सम्बन्धविच्छेद

काठमाडौं, वैशाख १५ : मुलुकी देवानी (संहिता) लागू भएसँगै पुरुष पनि सम्बन्धविच्छेद गर्न अदालत पुग्न थालेका छन्। गत आठ महिनामा सात सय ४६ जना पुरुष सम्बन्....

नयाँ मुलुकी ऐनकाे प्रभाव : आठ महिनामा काठमाडौंका ७४६ पुरुषद्वारा सम्बन्धविच्छेद
काठमाडौं प्रेस

काठमाडौं, वैशाख १५ : मुलुकी देवानी (संहिता) लागू भएसँगै पुरुष पनि सम्बन्धविच्छेद गर्न अदालत पुग्न थालेका छन्। गत आठ महिनामा सात सय ४६ जना पुरुष सम्बन्धविच्छेदका लागि काठमाडौं उपत्यकाका जिल्ला अदालत पुगेका छन्।

यस अघि महिलाले मात्रै सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिन पाउने कानुनी व्यवस्था थियो। पुरुषलाई सम्बन्धविच्छेद गर्न लामो प्रक्रिया अपनाउनु पर्थ्यो। गत भदौदेखि लागू भएको मुलुकी देवानी (संहिता)मा पुरुषले पनि सिधै अदालतमा सम्बन्धविच्छेदका लागि  निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यो लागू भएसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला अदालतमा पुरुष पनि सम्बन्धविच्छेदका लागि पुग्न थालेको हुन्। जिल्ला अदालतहरूका अनुसार, यो क्रम बढ्दै गएको छ।

Hardik ivf

ललितपुर जिल्ला अदालतका शाखा अधिकृत ध्रुवविनोद पोख्रेलले दैनिक जसो पुरुषहरू पनि सम्बन्धविच्छेदका लागि आउन थालेको बताए। ‘डिभोर्स गर्न विशेष गरेर २० देखि ४० वर्षका पुरुष तथा महिला आउने गरेका छन्,’ अधिकृत पोख्रेलले भने, ‘अदालत पुग्ने सबैलाई नछुटिन सुझाव दिन्छु । तर, निवेदन लिएर आउने अधिकांश श्रीमान–श्रीमती सम्बन्धविच्छेद गर्ने सहमति गरेर अदालत पुग्ने गरेका छन्।’

गत आठ महिनामा ललितपुर जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि एक सय २४ जना पुरुषले निवेदन दिएका छन्। त्यस्तै, भक्तपुर जिल्ला अदालतमा पनि ६३ जना पुरुषले सम्बन्धविच्छेदका लागि विनेदन दिएका छन्।

यो क्रम काठमाडौं जिल्ला अदालतमा भने धेरै रहेको छ। आठ महिनामा पाँच सय ५८ जना पुरुष सम्बन्धविच्छेदका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।

तथापि, यो अवधिमा सम्बन्धविच्छेदका लागि अदातल पुग्ने महिलाको संख्या पनि कम छैन । ललितपुरमा दुई सय ४३, भक्तपुरमा एक सय ८३ र काठमाडौंमा एक हजार नौ सय ११ महिलाले सम्बन्धविच्छेदको लागि अदालतमा निवेदन दिएका छन्।

तथ्यांक हेर्दा महिलाको संख्या बढी देखिए पनि अदालत आउने पुरुष पनि बढदै गएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दबहादुर श्रेष्ठले बताए।

गत भदौमा ९६, असोजमा ३९, कात्तिकमा ८५, मंसिरमा ८६, पुषमा ७३, माघमा ८१, फागुनमा ९५ र चैतमा एक सय तीन जना पुरुष सम्बन्धविच्छेदको निवेदन बोकेर काठमाडौ जिल्ला अदालत पुगेका छन्।

 

प्रकाशित मिति: १०:१९ बजे, आइतबार, वैशाख १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्