महिला र विपन्न जलवायु परिवर्तनको मारमा : राष्ट्रपति भण्डारी
बेइजिङ, १४ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले दुर्भाग्यबस जलवायु परिवर्तनको अन्यायपूर्ण भ....

बेइजिङ, १४ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले दुर्भाग्यबस जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै आएको र यसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेको बताएकी छिन्।
अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’को आज यहाँ आयोजित तेस्रो सत्रको ‘संयुक्त राष्ट्र सङ्घको सन् २०३० सम्मको एजेण्डा कार्यान्वयन गर्न हरियाली प्रर्वद्धन तथा दीगो विकास’ विषयक छलफलमा राष्ट्रपति भण्डारीले अबको बाटो हरित अर्थतन्त्रको विकास भएको र वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलको पुनरावलोकन गर्ने बेला आएको उल्लेख गरिन्।
“नेपाल अग्ला हिमालको देश हो । ती अग्ला चुचुरा गर्मीमा शीतलता र जाडोमा न्यानोपनका स्रोतहरु हुन् । पर्यावरण प्रणालीका अभिन्न अङ्गका रुपमा रहेका हिमालय शृङ्खला मानव जगत्का साझा सम्पत्ति हुन् । नेपालमा जलविद्युतका माध्यमबाट स्वच्छ ऊर्जाको विकास गर्ने प्रचूर सम्भावना छ। यसबाट नेपाललगायत छिमेकीकोसमेत हरित विकासमा ठूलो योगदान पुग्न सक्दछ”, राष्ट्रपति भण्डारीले भनिन्।
उनले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआइसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
रासस











