Kathmandu Press

निर्मलालाई न्याय माग्दा अन्यायमा परेका अर्जुन अझै अर्धचेत

काठमाडौं, वैशाख १४ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन सडकमा उत्रिँदा प्रहरीको गोली लागेका १९ वर्षीय अर....

निर्मलालाई न्याय माग्दा अन्यायमा परेका अर्जुन अझै अर्धचेत

काठमाडौं, वैशाख १४ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तलाई न्याय दिलाउन सडकमा उत्रिँदा प्रहरीको गोली लागेका १९ वर्षीय अर्जुन भण्डारी नौ महिनादेखि अस्पतालमै छन्। 

अर्जुन अहिले पनि अर्धचेत छन्। न बोल्न सक्छन्, न हिँडडुल गर्न। उनको मानसिक अवस्था पनि ठीक छैन। शरीरका लुगा च्यात्छन्, मान्छेलाई थुक्छन्, झम्टिन जान्छन्। डाक्टरले उनको गोली लागेको दायाँ खुट्टा काटेर फ्याँकेको छ।

निको हुने सम्भावना नरहेको भन्दै शिक्षण अस्पताल महाराजगञ्जका डाक्टरहरूले अर्जुनलाई घर लैजान सुझाव दिएका छन्, तर उनकी आमा शिवकला छोरालाई यही हालतमा घर लग्न तयार छैनन्। 

Hardik ivf

‘निर्दोष मान्छेलाई गोली हान्न सक्नेले उपचारमा चाहिँ किन हेलचेक्र्याइ गरिरहेको छ? यो अस्पतालमा निको नभए अर्को अस्पतालमा भए पनि छोराको उपचार हुनुपर्छ,’ उनी भन्छिन्। 

अर्जुनको उपचार खर्च सरकारले बेहोर्दै आएको छ। उनको उपचारमा अहिलेसम्म कति खर्च भयो शिवकलालाई थाह छैन। उपचारको बिल अस्पतालले सोझै स्वास्थ्य मन्त्रालयलाई बुझाउने गरेको छ। 

अर्जुनलाई एउटा कुरुवाले मात्रै पुग्दैन। ओछ्यानमै  दिसापिसाब गर्ने भएकाले दुई कुरुवा चाहिन्छ। अस्पतालमा रहेका कुरुवाको खर्च पनि सरकारले नै बेहोर्दै आएको छ। तर, फागुनदेखि अहिलेसम्मको खर्च नपाउँदा शिवकलालाई समस्या भएको छ। 

‘हातमा पैसा भए यो अस्पतालमा निको भएन भन्दै अर्को अस्पताल गुहार्थेँ। पैसा छैन, सरकारले खर्च त सबै बेहोरेको छ, तर अर्को अस्पतालमा पनि देखाइदिएको भए निको हुने थियो कि,’ उनले भनिन्। 

१६ वर्षअघि श्रीमान गुमाएकी शिवकलाले दुःखजेलो गरेर अर्जुन र अन्य सन्तानलाई पढाउँदै–हुर्काउँदै आएकी थिइन्। अहिले अर्जुनको उपचारका लागि अस्पताल बस्नुपर्दा अन्य दुई छोराको पालनपोषण गर्न समस्या परेको पनि उनले सुनाइन्।

निर्मलाको बलात्कार तथा हत्या अनुसन्धानको क्रममा प्रहरीले सुरुदेखि नै लापरबाही देखाएको थियो। एकपछि अर्को व्यक्तिलाई शंकाकै भरमा समात्ने र यातना दिएर अपराध स्वीकार गर्न लगाउने प्रहरी शैलीले स्थानीयहरूलाई आक्रोशित बनाएको थियो।

घटनाको २६ औं दिन मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई प्रहरीले पक्राउ गरी निर्मलाको हत्याराको रुपमा सार्वजनिक गरेपछि स्थानीय वासिन्दा बिरोध प्रदर्शनमा उत्रिए। स्थानीय मर्निङ ग्लोरी स्कुलबाट कक्षा १२ पास गरेर उच्चशिक्षा अध्ययनको तयारीमा रहेका अर्जुन पनि सडकमा निस्किए।

भदौ ७ गते भएको त्यो प्रदर्शनमा प्रहरीले गोली चलायो। अर्जुनको दायाँ खुट्टामा गोली लाग्यो। उनलाई उपचारका लागि कञ्चनपुर जिल्ला अस्पताल लगियो। त्यहाँ उनको खुट्टाबाट रगत बग्ने क्रम रोकिएन। त्यसै रात उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं टिचिङ अस्पतालमा ल्याइयो। 

साँझ ७ बजे अस्पताल पुर्‍याइएका अर्जुनको उपचार ११ बजेमात्रै सुरु भयो। रगत बगेर अचेत अवस्थामा रहेका उनलाई अस्पताल पुर्‍याउँदा पनि डाक्टरले हेरेनन्। 

‘समयमै डाक्टरले रगत रोक्ने प्रयास गरेको भए निको भइहाल्थ्यो कि! अहिले मलाई पनि गाह्रो, सरकारलाई पनि गाह्रो, घाइतेलाई झनै गाह्रो,’ अर्जुनकी आमा भन्छिन्। 

अर्जुनलाई अस्पताल पुर्‍याउँदा उनको शरीरबाट धेरै रगत बगेर खेर गइसकेको थियो। उनी बेहोस अवस्थामै हुँदा अप्रेशन भयो। डाक्टरले उनको दायाँ खुट्टा काटेर फ्याँके। त्यसपछि उनलाई ३२ पोका रगत चढाइयो।

अर्जुनलाई गोली लागेको भोलिपल्ट पनि कञ्चनपुरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप भयो। प्रहरीले फेरि गोली चलायो। धेरै प्रदर्शनकारीहरू घाइते भए। निर्मलाको न्यायका लागि धेरैले गोली खाँदा पनि अहिलेसम्म उनका वास्तविक हत्यारा पत्ता नलागेकोमा शिवकला खिन्न हुन्छिन्। 

प्रकाशित मिति: १०:१४ बजे, शनिबार, वैशाख १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्