Kathmandu Press

कोरोना संक्रमित अस्पतालभन्दा होम आइसोलेसनमा बढी

चितवन, असोज ९ : कोरोना भाइरस संक्रमित अस्पतालभन्दा होम आइसोलेसनमा बस्न थालेका छन्। चितवनमा अस्पतालभन्दा बढी होम आइसोलेसनमा बसेका छन्।जिल्ला स्वास्थ्य कार्यालय, चितवनको...
कोरोना संक्रमित अस्पतालभन्दा होम आइसोलेसनमा बढी

चितवन, असोज ९ : कोरोना भाइरस संक्रमित अस्पतालभन्दा होम आइसोलेसनमा बस्न थालेका छन्। चितवनमा अस्पतालभन्दा बढी होम आइसोलेसनमा बसेका छन्।

जिल्ला स्वास्थ्य कार्यालय, चितवनको तथ्याङ्कअनुसार, कोरोना सक्रिय संक्रमितको नौ सय ४३ पुगेको छ। उनीहरुमध्ये ६ सय २६ जना होम आइसोलेसनमा बसेका छन्। बाँकी तीन सय १७ जना मात्रै संस्थागत आइसोलेसनमा बसेका छन्।

स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टिन प्रभावकारी देखिएको बताए। 'लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे,' उनले भने, 'घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि होम आइसोलेनसमा बस्ने बढेका छन्। छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ।'

यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएका छन्। लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न प्रेरित गर्न थालिएको छ।

लक्षण देखिएका कोरोना संक्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारीले बताए। होम आइसोलेसनमा बसेर कोरोना संक्रमणमुक्त व्यक्तिहरुका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ।

हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा चार सय ४९ जना बसेका छन्। रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँच-पाँच जना छन्।

चितवनमा अहिलेसम्म एक हजार ६ सय ७७ जना कोरोनाबाट सङ्क्रमित भएका छन्। जसमध्ये सात सय १५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ। (रासस)

प्रकाशित मिति: १६:२३ बजे, शुक्रबार, असोज ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्