आफू अनुकूल परिणाम नआउने देखेर निजामती कर्मचारी युनियनको चुनाव रोकियो : कांग्रेस
काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निजामती कर्मचारी युनियनको निवार्चन रोक्नु दुःखद् भएको जनाएको छ। बिहीबार कांग्रेस श्रमिक तथा ट्रेड युनियन...
काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निजामती कर्मचारी युनियनको निवार्चन रोक्नु दुःखद् भएको जनाएको छ।
बिहीबार कांग्रेस श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिवप्रसाद हुमागाईँले विज्ञप्ति जारी गरी निजामती कर्मचारी युनियन निर्वाचन सारेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। यस्तै, कांग्रेसले निजामती कर्मचारीको आधिकारिक युनियनको निर्वाचन पटक–पटक सारेर सरकारले संविधानप्रदत्त मौलिक हकको हनन गरेको आरोप लगाएको छ।
‘संविधानको धारा १७ बमोजिम संघ–संस्था खोल्न पाउने र धारा ३४ बमोजिम युनियन खोल्ने र सामूहिक सौदावाजी गर्न पाउने नैसर्गिक अधिकारको कुरामा सरकारले हस्तक्षेप गरी लोकतन्त्रमाथि नै क्रमशः प्रहार गर्ने दुष्प्रयास गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले कुनै पनि वर्ग र समुदायको लोकतान्त्रिक अधिकारमाथि हुने अतिक्रमणको भत्र्सना गर्ने विज्ञप्तिमा उल्लेख छ। निर्वाचनको घोषणा गरेर अन्तिम तयारी भइसकेको अवस्थामा विभिन्न बहानाबाजी गरेर आफू अनुकूल परिणाम नआउने दखेर विधि विधानलाई लत्याएर निर्वाचन रोकिएको कांग्रेसको आरोप छ।
‘पेशागत सम्मान, मौलिक हक र युनियन अधिकारमाथि अंकुश लगाउने र एकदलीय संस्कारको पुनरावृत्ति हुने किसिमको सरकारको निर्णय तत्काल फिर्ता गरी निजामती कर्मचारीहरुको आधिकारिक युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न गराउन नेपाल सरकारसँग माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।











