Kathmandu Press

‘कैदीबन्दीको मृत्यु शंकास्पद भएको भन्नेमा कुनै सत्यता छैन’

काठमाडौं, असोज ७ : केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन्।कारागार र...
‘कैदीबन्दीको मृत्यु शंकास्पद भएको भन्नेमा कुनै सत्यता छैन’

काठमाडौं, असोज ७ : केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन्।

कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही असोज ३ गते राति उपचारका क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढङ्गबाट भएको जिकिर गरेका छन्।

पार्किन्सन र उच्चरक्तचापका बिरामी जैसवालको श्वासप्रश्वासमा समस्या आएपछि असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा बन्दीगृहबाट केन्द्रीय कारागार अस्पताल पठाइएको कारागार कार्यालय सुन्धाराका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए। उनले त्यही राति  थप उपचारका लागि वीर अस्पताल पठाइएको बताए।  

राति वीर अस्पताल ल्याइए पनि जैसवाल जीवितै रहेको कुनै संकेत नदेखिएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको वीर अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले बताए। जैसवालको असोज ५ गते पीसीआर परीक्षण गरिएको थियो। उनका अनुसार जैसवालको रिपोर्ट पोजेटिभ आएको थियो। तीन दिनदेखि शव शवगृहमा रहेका कारण सड्ने प्रक्रिया शुरु भएकाले फोका देखिनु, सुन्निनु, मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको निर्देशक  सेञ्चुरीले बताए। रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका संकेत देखिनु सामान्य प्रक्रिया भएको उनको भनाइ थियो। वीर अस्पतालमा रेफ्रिजेरेटरसहितको शवगृह नभएको सेञ्चुरीले बताए।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएका सूचनामा कुनै सत्यता नभएको जेलर बाँस्कोटाले बताए। कारागारभित्रको सिसिटिभी फुटेजले पनि उक्त कुरा निराधार भएको सावित गरेको उनको भनाइ थियो। शव परीक्षणपछि घटनाबारे बाँकी कुरा प्रष्ट हुने कारागार र वीर अस्पतालले जनाएका छन्। जैसवालको शरीरमा चोटपटक देखिएको तथा उनको शरीरको अंग निकालिएको जनाउँदै उनका परिवारजनले केही दिनदेखि वीर अस्पतालमा प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: ०१:१८ बजे, बिहीबार, असोज ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्