स्वास्थ्य मन्त्रालयको सिफारिस- सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गरौँ
काठमाडौं, असोज ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउन गर्न सिफारिस गरेको छ।बुधबार स्वास्थ्य मन्त्रालयको...
काठमाडौं, असोज ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि फेरि लकडाउन गर्न सिफारिस गरेको छ।
बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका सक्रियको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरिएको जानकारी दिए।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्नु पर्ने निष्कर्ष निकालेको प्रवक्ता गौतमले जानकारी दिए।
प्रवक्ता गौतमले भने,‘२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुन्छ। त्यसैले लकडाउन गर्नु पर्ने निष्कर्ष निकालिएको छ,’ प्रवक्ता गौतमले भने।
उनका अनुसार देशभर बुधबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ।
यस्तै, बैठकले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको प्रवक्ता गौतमले बताए।
बुधबार नेपालमा थप ११७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ। संक्रमितमध्ये ४९ हजार ९५४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४३६ जनाको मृत्यु भएको छ।











