प्रचण्डले भने–विप्लवसँग गएर फेरि हतियार उठाए केही पाइहाल्छौं कि भन्ने भ्रम नपाल्नुस्
ललितपुर, वैशाख १० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलकुमा अब फेरि विद्रोह, हिंसा र आन्दोलन ग....

ललितपुर, वैशाख १० : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलकुमा अब फेरि विद्रोह, हिंसा र आन्दोलन गर्नु पर्ने अवस्था नआउने बताएका छन्।
मंगलबार ललितपुरमा आयोजित आदिवासी जनजातिहरुको अधिकारसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले भने,‘अब फेरि विद्रोह गर्नु पर्ने हो कि, फेरि हिंसा र आन्दोलनमा उत्रिनु पर्ने अवस्था आउने हो कि भन्ने भ्रममा नपर्नुस्। अब त्यो गर्नु पर्दैन।’
उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले गरिरहेको विद्रोह भ्रममात्रै भएको बताए। ‘फेरि विप्लव समूहमा गएर हतियार उठाए केही भइहाल्छ कि केही पाइन्छ कि भन्ने भ्रम तपाईँहरुले अब नपाल्नुस्,’ प्रचण्डले भने,‘विप्लवहरु आदिवासी जनजातिको पक्षमा छैनन्।’
उनले विप्लव पहिलेदेखि नै संघीयता ठीक होइन भन्ने पक्षमा रहेको टिप्पणी पनि गरे। ‘सबै खेल संघीयता सिध्याउन हो,’प्रचण्डले भने,‘उनीहरु पहिलेदेखि नै यसको विरोधमा थिए। ख्याल गर्नु होला।’ उनले आदिवासी जनजातिहरुका अधिकार सुनिश्चित हुने गरी संवैधानिक आयोग बनाइएको पनि दाबी गरे।
यद्यपि आदिवासी जनजातिका अधिकार सुनिश्चितताका लागि सरकारलाई बेला बेलामा घच्घचाइराख्नु पर्ने आवश्कता रहेको प्रचण्डको भनाइ छ।










