अब हलिया-कमैया रहँदैनन्, सबैको पुन:स्थापना हुन्छ: मन्त्री अर्याल
धनगढी, वैशाख ९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुक्त भएको लामो समय भइसक्दा पनि कमैया/हलियाको पुन:स्थापना हु....

धनगढी, वैशाख ९ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुक्त भएको लामो समय भइसक्दा पनि कमैया/हलियाको पुन:स्थापना हुन नसक्नु दु:खद भएकाे बताएकी छिन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार धनगढीमा आयोजना गरेको मुक्त हलिया तथा मुक्त कमैया परिवारको पुनः स्थापन पूर्णरुपमा सम्पन्न गर्ने सम्बन्धमा रणनीति तय गर्ने छलफल कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्। मुक्त भएको लामो समय भइकस्दा पनि कमैया/हलियाको समस्या समाधान हुन नसक्नु दु:खद भएको भन्दै उनले अब कमैया हलियाको समस्या यही आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी मन्त्रालय लागेको बताइन्।
संघीय सरकारले थालेको हलिया/कमैयाको पुन: स्थापनाको कार्य स्थानीय सरकारको सहयोग बिना सम्पन्न हुन नसक्ने भन्दै मन्त्री अर्यालले हलिया/कमैया नभएका गलत व्यक्ति सूचिकृत भएको र सूचिकृत हुनुपर्ने व्यक्तिहरू छुटेको भन्ने कुरालाई हेर्नुपर्ने बताइन्। अब पनि पुनः सूचिकृत गर्ने कुरा नहुने भन्दै उनले गलत व्यक्ति परेका भए त्यसलाई सूचिबाट हटाएर पुन:स्थापना सम्पन्न गरिने बताइन्।
‘अब पनि सूचिकृत गर्ने र ढिलो गर्ने कुरा राम्रो कुरा होइन। यो कुराबाट छिटो छुटकारा गर्ने हो’, मन्त्री अर्यालले भनिन्,‘हिजो कमैया, हलिया नबसेकाहरूले कमैया हुँ भनेर नाम लेखाए भन्ने कुरा छ। यसबारेमा छानविन गरेर पठाउनुस् सूचिबाट नाम हटाइन्छ। सँगै अहिलेसम्म पनि सम्पर्कमा नआउनेहरूको अब नाम काटिन्छ।’










