बाँकेको भेरी अस्पतालमा ७२ श्ययाको कोरोना विशेष अस्पताल सञ्चालन

नेपालगञ्ज, भदौ २५ : बाँकेको भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ।
बिहीबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पतालको उद्घाटन गरेका हुन्।
कार्यक्रममा मन्त्री बरालले कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले सबैको सहयोग खोजेको उल्लेख गर्दै यो महामारीसँग लड्न हरसम्भव प्रयास गरिने बताए। कोरोना विशेष अस्पतालमा आठ आइसियुसहित ७२ श्यया रहेको छ। निकट भविष्यमै अस्पताललाई १०० श्ययाको बनाइने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
यसअघि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा श्यया अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको थियो। सोही निर्णयानुसार प्रदेश सरकार र बाँकेका संघ–संस्था लगायतको सहयोगमा कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ।
खजुरास्थित क्यान्सर अस्पताल, कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल, कृृषि विकास केन्द्र पिपरीलाई आइसोलेशन सेन्टर बनाइएको छ।











