Kathmandu Press

बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय पुनर्विचार गर्न स्थायी समितिमा माग गरिने

गत साता बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो। अध्यक्ष ओलीले युवराज खतिवडालाई दोहोर्‍याउन चाहेका थिए। बहमुत सचिवालय सदस्यले गत फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्नुपर्ने दबाब दिएपछि ओली लचिलो बन्न बाध्य भएका थिए।
बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय पुनर्विचार गर्न स्थायी समितिमा माग गरिने

काठमाडौं, भदौ २४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सचिवालयको निर्णयलाई पुनर्विचार गर्ने विषय स्थायी कमिटी बैठकमा छलफल हुने भएको छ।

भदौ २६ गते तय भएको स्थायी कमिटी बैठकमा गौतमलाई राष्ट्रियसभामा लाने निर्णयको पुनर्विचार गर्न सदस्यहरुले माग गर्ने भएका छन्। जनस्तरबाटै त्यस निर्णयप्रति विरोध हुन थालेपछि स्थायी कमिटी सदस्यहरुले सचिवालयको निर्णय सच्चाउन नेतृत्वको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।

Hardik ivf

नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने सचिवालयको निर्णयको जनस्तरबाटै विरोध भएकाले आगामी बैठकमा त्यस विषयमा प्रमुखताका साथ छलफल हुने बताए। ‘सचिवालयको निर्णयलाई विभिन्न ढंगबाट टिकाटिप्पणी भएका छन्। जनस्तरबाट समेत विरोध भएकाले स्थायी कमिटी बैठकमा त्यसको पुनर्विचारको सम्बन्धमा छलफल हुन्छ’, गजुरेलले काठमाडौं प्रेससँग भने, ‘सदस्यहरुको धारणा र उपाध्यक्ष गौतमका कुरामा समेत आधारित रहेर निर्णय पुनर्विचार गर्नुपर्ने हो वा होइन भन्ने निष्कर्षमा बैठक पुग्छ।’

यस्तै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले राष्ट्रियसभाको गरिमा भत्काउने काम बारम्बार भइरहेकोले त्यसबारे स्थायी समिति बैठकमा प्रश्न गर्ने बताइन्। राष्ट्रियसभामा उपाध्यक्ष गौतमको आवश्यकता र औचित्यबारेमा पनि छलफल हुने उनको भनाई छ। ‘पार्टीबाट निरन्तर राष्ट्रियसभाको गरिमालाई भत्काउने काम भएको छ। राष्ट्रियसभाको विविधताका विषयमा गम्भीर भएको पाइँदैन। जसरी पनि नेताहरुलाई पठाउनु पर्ने चलनको विकास गरेको अहिलेको स्थिति छ’, शाक्यले भनिन्, ‘बामदेव गौतमको आवश्यकता हो की होइन? भन्ने कुरामा पनि छलफल गरौँला, त्यहाँ रिक्त स्थानमा राष्ट्रियसभाको गरिमा बढाउने गरी कसलाई पठाउन सकिन्छ भन्ने कोणबाट पनि छलफल गर्न जरुरी छ। स्थायी कमिटी बैठकमा हामी यो विषयमा प्रश्न उठाउँछौं।’

शाक्यले प्रधानमन्त्रीबाटै सचिवालयमा प्रस्ताव आएको अवस्थामा उपाध्यक्ष गौतमलाई राष्ट्रपति समक्ष नियुक्तिका लागि सिफारिस गर्न ढिलाई गरेर प्रधानमन्त्रीले गल्ती गरेको पनि टिप्पणी गरेकी छन्। ‘सचिवालयमा प्रस्ताव प्रधानमन्त्रीले नै ल्याएकाले अहिलेसम्म अलमल्याउनु हुँदैनथ्यो। मान्छेको आ आफ्नो गरिमा हुन्छ त्यसलाई प्रधानमन्त्रीले ख्याल राख्नुपर्थ्यो,’ उनले भनिन्।

ओलीनिकट स्थायी कमिटी सदस्यहरुले पनि गौतमको नियुक्तिको विपक्षमा आवाज उठाउने तयारी गरेका छन्। ओलीलाई दबाब दिएर गौतमलाई सिफारिस गरेकाले उनीहरुले त्यसको प्रतिरोध गर्ने तयारी गरेको स्रोतको दाबी छ। ओली निकट एक स्थायी कमिटी सदस्यले कार्यदलको प्रतिवेदनभन्दा बाहिर रहेर पार्टीभित्र नयाँ अन्तर विरोध सिर्जना गर्ने प्रयत्न भएकाले त्यसका विषयमा बैठकमा प्रश्न उठ्ने बताए। ‘प्रधानमन्त्रीले गौतमलाई राष्ट्रियसभामा पठाउने विषयको च्याप्टर क्लोज भएको बताइसकेको अवस्थामा दबाबपूर्ण ढंगबाट सिफारिसको निर्णय गराउने काम भयो। यो निकै गलत भयो। यसका विषयमा हामी स्थायी कमिटीमा सशक्त रुपमा प्रश्न उठाउँछौँ,’ नाम नखुलाउन आग्रह गर्दै ती सदस्यले भने।

गत साता बसेको नेकपा सचिवालयको बैठकले राष्ट्रियसभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो। अध्यक्ष ओलीले युवराज खतिवडालाई दोहोर्‍याउन चाहेका थिए। बहमुत सचिवालय सदस्यले गत फागुन १४ गतेको निर्णय कार्यान्वयन गर्नुपर्ने दबाब दिएपछि ओली लचिलो बन्न बाध्य भएका थिए। असार १० गतेदेखि बारम्बार स्थगित हुँदै आएको स्थायी कमिटी भदौ २६ गते बोलाइएको हो। बैठकमा कार्यदलको प्रतिवेदनमा मुख्य छलफल चलाउने तयारी भएपनि गौतमको नियुक्तिको विषयमा पनि प्रशस्तै प्रश्न उठाउने सदस्यहरुको तयारी छ। सकभर एकैदिनमा स्थायी कमिटी बैठक टुंग्याउने नेतृत्वको रणनीति छ।

प्रकाशित मिति: १३:४४ बजे, बुधबार, भदौ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्