आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु
जलेश्वर, भदौ २४ : सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको...
जलेश्वर, भदौ २४ : सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ।
व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन्।
त्यसैगरी भोलि बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी पर्सि बिहान व्रत सम्पन्न गर्नेछन्। सयौँ बर्तालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अङ्कुशी नदी तथा पवित्र पोखरीहरु लक्ष्मी सागर, वरुणसागर, भार्गवसागरलगायतका सरोवर र नदीमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन्। यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ।
व्रत बस्नु अघिल्लो दिनमै बर्तालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ। देवतालाई चढाएकै तेलमध्येबाट आ–आफना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ।
आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ।
त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाहरु ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात केही खानेकुरा ओठमा लगाउनुपर्छ, तर यसपल्ट ओंगठन खाने साइत नभएको जनाएको छ। यसपटक आज राति १० बजेभन्दा अगाडि नै व्रतीहरुले सबै खानेकुरा खाइसक्नुपर्ने जनाएको छ।
प्रायः जसो महिलाले ओंगठनमा दही च्युरा खाने गरेको पाइन्छ। त्यसपछि सुरु हुन्छ कठिन उपवासको क्रम। आश्विन कृष्णपक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष कठिन रहेको जलेश्वरका पण्डित कालिकान्त झा बताउछन्।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ। यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक धु्रव राय भन्छन्, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ।’
पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई पिण्ड चढाउँछन्। मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमतुवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले भन्ने पौराणिक कथन छ। (रासस)











