Kathmandu Press

नवलपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

पोखरा, भदौ २४ : नवलपुरका एक जना कोरोना संक्रमितको चितवनस्थित कोभिड अस्पतालमा मृत्यु भएको छ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का...
नवलपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु

पोखरा, भदौ २४ : नवलपुरका एक जना कोरोना संक्रमितको चितवनस्थित कोभिड अस्पतालमा मृत्यु भएको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय बृद्धको मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।

उनी मिर्गौला रोगबाट पीडित थिए। उनको चितवनमा मिर्गौलाको डायलासिस चलिरहेको थियो। कोरोना संक्रमण देखिएपछि भदौ १९ गते अस्पताल भर्ना भएका थिए।

उनलाई खोकी र श्वासप्रश्वासमा समस्या आएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारका क्रममै मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

त्यस्तै, आज बिहान मात्रै कास्कीको पोखरामा नौ, बाग्लुङ र नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) एकएक जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै गण्डकीमा सङ्क्रमितको संख्या दुई हजार ६ सय ७२ पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए।

कोरोना सङ्क्रमितमध्ये एक हजार आठ सय चार जना निको भएका छन्। अहिले सक्रिय सङ्क्रमित आठ सय ४६ रहेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा अहिलेसम्म ५३ हजार तीन सय २९ जनाको पिसीआर नमूना परीक्षण गरिएको छ।

प्रकाशित मिति: १०:१० बजे, बुधबार, भदौ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्