Kathmandu Press

विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल

विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल

नुवाकोट, भदौ २३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना संक्रमणको केन्द्र बन्न नदिने बताएका छन्। 

मंगलबार नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन वतृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताएका हुन्।  

“अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर सङ्क्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन। हाम्रा स्वास्थ्य स्रोत साधन कम छ। त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ”, मन्त्री पोखरेलले भने, “विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन। आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अघि बढाउनुको विकल्प छैन।”

मन्त्री पोखरेलले वैकल्पिक र दूर शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन तहको सरकारको भूमिका महत्वपूर्ण रहेकाले स्थानीय तहलाई कार्य योजना बनाएर अघि बढ्न आग्रह गरे।  मन्त्री पोखरेलले वैकल्पिक बाटोबाट शिक्षण प्रदान गर्दा कोही पनि विद्यार्थीलाई नछुटाई हरेक विद्यार्थीलाई समेट्ने गरी योजना बनाउनुपर्ने बताए।  

“कोरोनाकालमा परम्परागत रुपमा शिक्षा प्रदान गर्न सम्भव छैन भन्ने पाठ सिकाएको छ। विश्वस्वास्थ्य सङ्गठनले यो महामारी साम्य हुन कम्तीमा दुई वर्ष लाग्छ भनिरहेको छ। स्कूल, कलेज बन्द भए पनि शिक्षण बन्द भएको छैन, शिक्षा बन्द गरिनु हुन्न। शैक्षिक क्षतिलाई कम गर्दै शैक्षिक सत्र सुनिश्चित गर्नु पर्छ ,”उनले भने। 

मन्त्री पोखरेलले रेडियो, टेलिभिजन, अनलाइन र अस्थायी सिकाइ केन्द्रमा थोरै विद्यार्थी राखेर भए पनि शिक्षण कार्य अघि बढाइने बताए। रासस

प्रकाशित मिति: १९:४७ बजे, मंगलबार, भदौ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्