कांग्रेसका स्थानीय जनप्रतिनिधिलाई देउवाको निर्देशन - जनताको मन जित्ने काम गर्नुस्
काठमाडौं, भदौ २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट स्थानीय तहमा जनप्रतिनिधिलाई उदाहरणीय काम गर्न निर्देशन दिएका छन्। कांग्रेसको स्थानीय तह समन्वय...
काठमाडौं, भदौ २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट स्थानीय तहमा जनप्रतिनिधिलाई उदाहरणीय काम गर्न निर्देशन दिएका छन्। कांग्रेसको स्थानीय तह समन्वय विभागले आयोजना गरेको जुम मिटिङलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिएका हुन्।
‘जनता माँझ पार्टीको छवि निर्माण गर्ने कार्यमा स्थानीय तहमा निर्वाचित साथीहरुको सर्वाधिक महत्वपूर्ण भूमिका हुन्छ। जनताको निकटमा भएको हुँदा तपाईका काम र व्यवहारलाई सबैले नजिकबाट हेरी मूल्यांकन गरिरहेका हुन्छन्,’ देउवाले भने, ‘तपाईको असल कामले पार्टीको छवि उज्यालो बनाउने र खराब कामले पार्टीको छवि धमिल्याउने हुन्छ। नेपाली कांग्रेसका सदस्यहरु निर्वाचित भएको स्थानीय तहलाई जनताले उदाहरणीय रुपमा हेर्ने बनाउनु पर्दछ।’
अहिलेको राजनीतिक प्रणालीलाई सफल बनाउने दायित्व र जिम्मेवारी कांग्रेसको भएको भन्दै उनले स्थानीय तह जनताको सबै भन्दा नजिकको सरकार भएकाले जनताका समस्यालाई समधान गर्नुपर्ने बताए।
‘स्थानीय तहमा कार्यरत व्यक्तिहरुले दिनानुदिन जनताका समस्यासँग साक्षत्कार गर्नु पर्दछ। आफुसँग सन्नीकट र प्रत्यक्ष जोडिएको सरकार भएको हुँदा जनताले आफ्ना साना ठूला सबै समस्या स्थानीय तहमा भन्ने र ती समस्याको समाधनको अपेक्षा राख्नु स्वाभाविक हो,’ देउवाले भने, ‘स्थानीय तहमा निर्वाचित साथीहरुले आफ्नो अधिकार क्षेत्र भित्रको विषय र आफुले गर्न सक्ने काम ढिलो नगरी, पारदर्शी र प्रभावकारी रुपले सेवा प्रभाव गर्नु पर्दछ। कतिपय कामहरु आफ्नो अधिकार क्षेत्र र क्षमता बाहिरका छन् भनेपनि आफु भन्दा माथिको तहसँग समन्वय र सिफारिस गरी जनताको सेवा गर्नु पर्दछ।’
उनले कोभिड १९ को महामारीमा स्थानीय सरकारका साथीहरु प्रयाप्त बजेट, सादन र स्रोतको अभावका बावजूद अग्रमोर्चामा उभिएर काम गरेको भन्दै धन्यवाद समेत दिए। सरकारले समयमा सचेतनापूर्वक काम नगरेका कारण जटिल अवस्था सृजना भएको उनको भनाइ थियो। ‘केन्द्र सरकारले समयमा सामग्रीको आपुर्ति, परीक्षणको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन र अस्पतालको समुचित व्यवस्थापन, विदेशमा विचल्लीमा परेका नेपाली नागरिकको घर फिर्ति, राहत वितरण लगायतका अत्यावश्यक काम गर्न सकेन,’ उनले भने, ‘स्थानीय तहले केन्द्र र प्रदेश सरकारबाट आवश्यकता अनुसार स्रोत, सादन, बजेट, जनशक्ति समयमा पाउन सकेन। यी सबै काममा नेपाल सरकार पूर्णरुपले असफल भएको हामीले निष्कर्ष निकालेका छौं।’
उनले राजनीति गर्ने व्यक्तिका लागि सदाचारपूर्ण जीवन, उच्च वैचारिक र चारित्रिक व्यवहार, आर्थिक पारदर्शिता र जनताको अभिभावकत्व ग्रहण गर्ने क्षमतानै गहना भएको भन्दै कांग्रेसलाई जनता माँझ स्थापित गर्ने काममा दत्तचित्त लाग्न आग्रह समेत गरेका छन्।











