Kathmandu Press

नेकपाभित्र अब विवाद छैन : पौडेल

बागलुङ, भदौ २३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताएका छन्। जनयुद्धका शहीद सुरेश...
नेकपाभित्र अब विवाद छैन : पौडेल

बागलुङ, भदौ २३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताएका छन्। जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृति दिवसमा उनले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने बताए। 

‘पार्टीमा अब विवाद छैन, स्थायी समिति बैठक पनि बस्दैछ, एकता सुदृढ बन्छ,’ नेता पौडेलले भने, ‘शहीदका बलिदान खेर जान नदिन पार्टीलाई एकताबद्ध गर्नुको अर्को विकल्प छैन।’ गणतन्त्र स्थापनादेखि पछिल्लो राजनीतिक, सामाजिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानलाई कसैले पनि कम आँक्न नहुने उनको भनाइ छ।

‘कसैले हिजोको आन्दोलन र बलिदानलाई लिएर तुच्छ टिप्पणी गरेको हामी पाउँछौँ, त्यो अल्पज्ञान हो,’ उनले भने, ‘जनयुद्ध समाज रुपान्तरणका लागि लिइएको सचेत पहलकदमी थियो।’ बागलुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले शहीद वाग्लेलाई दृढ इच्छाशक्ति भएको क्रान्तिकारी व्यक्तित्वका रुपमा स्मरण गरे। 

‘उहाँसँगै एउटै समिति र मोर्चामा बसेर मैले पनि काम गर्ने अवसर पाएको थिएँ, विचार, राजनीतिमा पोख्त, शैन्यकौशल भएको र कुशल योजनाकारका रुपमा उहाँ चिनिनुहुन्थ्यो,’ नेता पौडेलले भने। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा सञ्चालित जनयुद्धमा शहादत प्राप्त गर्नेमा वाग्ले सबैभन्दा उपल्लो तहको नेता थिए।

पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य रहेका गोरखाका वाग्ले र अर्का नेता पोखरेललाई पार्टी कामका सिलसिलामा हिँडिरहेका बेला आजकै दिन विसं २०५६ मा प्रहरीले हत्या गरेको थियो। स्मृति दिवस समारोहमा बोल्दै नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शहीदले देखाएको बाटोलाई आत्मसात् गर्नुपर्ने धारणा राखे। 

‘जनयुद्धमा भएको त्यत्रो ठूलो बलिदान कुनै ठट्टा होइन, अहिलेका उपलब्धि ल्याउनमा त्यसको ठूलो भूमिका छ,’ उनले भने, ‘राजनीतिक ढङ्गले परिवर्तन त ग¥यौं तर शहीदले देखेको समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न हाम्रो व्यवहार, कार्यशैली सही छ त ? समीक्षा गर्नुपर्ने बेला भएको छ।’

प्रकाशित मिति: १४:०६ बजे, मंगलबार, भदौ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्