Kathmandu Press

बागलुङ बाढी : एउटाको शव अर्कैको भनेर दाहसंस्कार

बागलुङ, भदौ २३ : बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गते आएको बाढीले ३१ घर बगाउँदा १७ जनाको मृत्यु भएको छ भने अझै...
बागलुङ बाढी : एउटाको शव अर्कैको भनेर दाहसंस्कार

बागलुङ, भदौ २३ : बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गते आएको बाढीले ३१ घर बगाउँदा १७ जनाको मृत्यु भएको छ भने अझै २१ बेपत्ता छन्। शव क्षतविक्षत भएकाले अझै पनि दुई जनाको सनाखत हुन सकेको छैन। शव सनाखतमा कठिनाइ हुँदा एउटाको शव अर्कै परिवारले दाहसंस्कार गरेको छ।

ढोरपाटनको बाढीमा बेपत्ता भएका २२ वर्षीय नारायण विकको शव घट्टबोटका बेपत्ता ३१ वर्षीय प्रेम पुनको शव भन्दै प्रहरीले आफन्तको जिम्मा लगायो। आफन्तले पनि नारायणको शव प्रेमको ठानेर १९ गते फेला परेर त्यहि दिन बुर्तिवाङघाटमा जलाए।

प्रेमका आफन्तले अर्कैको शव जलाएर आएको भोलिपल्ट बिहान पुनः उनको सग्लो शव फेला पारेपछि २० गते फेरि पुनको शव बुर्तिवाङघाटमै जलाइयो। तर, नारायणका परिवारले आफ्नो छोराको शव भेटिँदासमेत दाहसंस्कार गर्न पाएनन्।

भदौ १९ गते जलाइसकेको शव आफ्नो छोरा भएको २० गते प्रेमको परिवारले दोस्रो शवको दाहसंस्कार गरेपछि मात्रै आफूले थाहा पाएको नारायणका बुवा तुलबहादुर विकले बताए। “प्रहरीले मलाई थाहै नदिई मेरो छोराको शव अर्कैको भनेर बुझाइसकेर दाहसंस्कार भइसकेको रहेछ,” तुलबहादुरले भने, “मेरो छोरालाई प्रेम पुनको शव भनेर जलाएको भोलिपल्ट उनको शव फेला पारेको रहेछ, मैले २० गते मात्रै १९ गते प्रेम पुन भनेर जलाएको शव मेरो छोरा नारायणको भएको पत्ता लगाएँ, असाध्यै दुःख लाग्यो।”

आफ्नो छोरा नारायण र प्रेमको शरीर र उमेर मिल्दोजुल्दो भएका कारण प्रहरीले झुक्किएर प्रेमको आफन्तलाई जिम्मा लगाएको उनको भनाइ छ। भदौ १९ गते फेला परेको शव एकपटक हेर्न पाएको भए चिन्ने अवस्था रहे पनि आफूलाई खबर नै नगरेको उनले गुनासो गरे। “कसैले दुईपटकसम्म दाहसंस्कार गर्न पर्यो, आफ्नो छोरालाई अर्कैले जलाएछन्, मैले दाहसंस्कारै गर्न पाइनँ,” उनले भने।

नारायणलाई १९ गते नै जलाएको २० गते थाहा पाएपछि कपाल मुण्डन गरेको उनको भनाइ छ। तुलबहादुरका छोरा नारायणसहित बुहारी, नातिनी र छोरीलाई समेत बाढीले बगाएर बेपत्ता बनाएको छ। तीन जनाको अवस्था अझै अज्ञात रहँदा भेटिएको शवसमेत देख्न नपाई जलाइएकामा उनको दुखेसो छ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी इन्चार्ज प्रकाशसिंह भण्डारीका अनुसार फेला परेको शव क्षतविक्षत भएकाले पहिचनामा समस्या भएको हो। “१९ गते फेला परेको शव ३१ वर्षीय प्रेम पुनको भएको पुनका आफन्तले भनेपछि हामीले दाहसंस्कार गर्नका लागि बुझायौँ,” भण्डारीले भने, “त्यसको भोलिपल्ट प्रेम पुनको सग्लो शव फेला परेपछि बल्ल सनाखतमा समस्या भएको थाहा पाइयो।”

प्रहरीका अनुसार सोमबार मात्रै नारयणका बुबा तुलबहादुरले ल्याएको तस्वीरका आधारमा १९ गते प्रेम पुन भनेर जलाइएको शव नारायणको भएको सनाखत गरिएको छ। फेला पर्ने अधिकांश शवको ढुङ्गाले थिचेको जस्तो हातखुट्टा चुँडिएका र अनुहार नचिनिने भएका कारण समस्या भएको प्रहरीको भनाइ छ। (रासस)

प्रकाशित मिति: १०:४१ बजे, मंगलबार, भदौ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्