कोरोना संक्रमितको छिटो पहिचान गर्न ‘अपरेसन सेन्टर’
काठमाडौं, भदौ २३ : काठमाडौं महानगरपालिकाले कारोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ।हरेक दिन कोरोना सङ्क्रमित...
काठमाडौं, भदौ २३ : काठमाडौं महानगरपालिकाले कारोना भाइरस सङ्क्रमितको सम्पर्कमा रहेकालाई छिटो पहिचान गर्नका लागि अपरेसन सेन्टर स्थापना गरेको छ।
हरेक दिन कोरोना सङ्क्रमित बढ्न थालेपछि महानगरले अपरेस सेन्टर स्थापना गरेको हो। पहिलो चरणमा यसअघि बढी सङ्क्रमित देखिएका वडाहरुमा स्वयंसेवकसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
महानगरको जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरका अनुसार ३२ वटै वडामा टोली बनाएर सोमबारबाट काम शुरु संक्रमित पहिचान गर्ने काम सुरु भएको छ। यसबाट सङ्क्रमित पहिचान गर्न ठूलो सहयोग पुग्ने उनले बताए।
यसलाई प्रभावकारी बनाउन महानगरले १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ भने थप २० स्वयंसेवक पनि परिचालन गरेको छ। आवश्यकता हेरी थप अरु कर्मचारी पनि भर्ना गरिने जनस्वास्थ्य विभाग प्रमुख कुँवरले बताए।
यसअघि स्वास्थ्यकर्मीको पनि समस्या रहेको र अब त्यो समस्या केही कम हुने उनको भनाइ छ। टोलीले ३२ वटै वडामा यसअघि खटिएको स्वयंसेवक र स्वास्थ्यकर्मीसँग सहकार्य गरी काम गर्नेछन्।
त्यसैगरी टोलीले होम क्वारेन्टिन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको सहजताको काम गर्नेछन्। टोलीलाई केसको पहिचान गर्नेदेखि कन्ट्याक्ट ट्रेसिङ गरी पिसीआर परीक्षण गर्नेसम्मको अधिकार रहेको छ।
विभाग प्रमुख कुँवरले महानगरमा परीक्षण गर्दा लक्षण नदेखिएका सङ्क्रमितलाई राख्न बालाजुस्थित बाइसधारा पार्कको भवनलाई प्रयोग गर्ने पनि जानकारी दिए। महानगरले अहिलेसम्म चार जनाको सहयोगमा पिसीआर परीक्षण गरिरहेको थियो।
अब सो सङ्ख्या बढेर करिब १० जना पुग्ने विभागले जनाएको छ। अहिलेसम्म काठमाडौं उपत्यकामा मात्रै करिब नौ हजारको सङ्ख्यामा कोरोना संक्रमण रहेका छन्। जसमध्ये काठमाडौं जिल्लामा मात्रै ६ हजार संक्रमित छन्। (रासस)











